इलामको चिया क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग
काठमाडौँ । चियाको बजारीकरण र व्यावसायीकरणका लागि ठोस कार्यक्रम ल्याउन इलामका जनप्रतिनिधि र व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । इलाममा चिया खेतीमा देखिएको समस्या समाधान गर्नुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।
इलाम–१ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद महेश बस्नेतसहितको टोलीले इलाममा चियाको बजारीकरण र व्यवसायीकरणमा देखिएका समस्याबारे कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग छलफल गर्दै यस्तो सुझाव दिएको हो ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवसहितको छलफलमा इलामका व्यवसायीहरूको तर्फबाट सूर्याेदय अर्थाेडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालका उपाध्यक्ष अभिनन्द गिरिले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा भारतीय बजारमा मात्रै निर्भर हुँदा पटकपटक समस्या आउने गरेको गुनासो पोखे ।
चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि विभिन्न देशसँग छलफल तथा आवश्यक पहलका लागि उनले मन्त्रीको ध्यानाकर्षण समेत गराए ।
युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थाेडक्स चिया निर्यात गर्दा भारतीय भन्सारले दुःख दिने गरेको व्यवसायीहरूको भनाइ छ । पूर्वी नेपालको सीमा नाका पानीट्यांकीस्थित भारतीय कस्टमले इलाम र पाँचथरको प्रमाणित अर्ग्यानिक चिया निकासीमा विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायीले बताउँदै आएका छन् ।
