अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाइँदै

काठमाडौँ । अस्ट्रेलियाका सांसदहरूले १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियमहरू पारित गरेका छन् ।

विधेयक अस्ति बुधवार संसद्को तल्लो सदनबाट र हिजो बेलुका सिनेटबाट पारित भएको हो । अब सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई खाता खोल्नबाट रोक्नको लागि चाँडै उचित कदम चाल्ने अपेक्षा गरिएको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

नियम पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने बताइएको छ । सामाजिक सञ्जाल कम्पनीहरूले भने यो नियमलाई अस्पष्ट, समस्याग्रस्त र हतारमा भएको निर्णय भएको टिप्पणी गरेका छन् ।

यो प्रतिबन्ध संसारमा सबैभन्दा कडामध्ये एक हो । नियामक कम्पनीले विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा एक वर्ष लाग्ने बताएका छन् ।

किशोरकिशोरीहरूले मनोरञ्जन, स्कूलको काम वा अरु कारणका लागि आवश्यक पर्ने भन्दै ह्वाट्सएप र युट्युब जस्ता केही कम्पनीलाई सम्भवतः छुट दिइने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *