उखुको मूल्य निर्धारण, पोहोरभन्दा २० रुपैयाँ वृद्धि
काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । यो वर्ष पोहोरको भन्दा २० रुपैयाँ वृद्धि गरिएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उखु मिलहरुले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पुर्याइएको हो ।
सरकारले उखु किसानलाई अनुदान बापत कति रकम दिने भन्नेबारे भने यकिन भइसकेको छैन । उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गरेका छन् ।
मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जनाइएको छ ।
सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो । यो रकमसमेत उद्योगीहरुमार्फत नै किसानलाई दिने गरिएको छ ।
उखु किसानहरुले आफूले गरेको उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन् । उत्पादन लगेर उद्योगहरुमा बुझाएको लामो समयसम्म पनि मूल्य पाउन नसकेको भनेर पटक पटक किसानहरु आन्दोलित बन्दै आएका छन् ।
सरकारी तथ्यांकअनुसार नेपालमा उखु उत्पादन उत्पादन तथा उत्पादकत्व घटिरहेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयको अनुमानअनुसार हाल नेपालमा उत्पादित उखुमध्ये ५८ प्रतिशत उखु चिनी उत्पादनको कच्चापदार्थको रुपमा चिनी उद्योगमा खपत हुन्छ । बाँकी उखु सख्खर, जुस तथा मदिरा उत्पादनलगायतका व्यावसायिक प्रयोजनमा खपत हुने गरेको छ ।
मन्त्रालयका अनुसार नेपालमा उखु खेतीमा करिब एक लाख कृषक परिवार संलग्न छन् । कच्चापदार्थको रुपमा उखु बालीले नेपालको अर्थतन्त्रमा करिब १७ अर्ब रुपैयाँ बराबरको योगदान दिइरहेको छ ।
नेपालमा व्यावसायिकरुपमा उखु खेतीको सुरुवात नेपालमा २००३ सालमा मोरङ सुगर मिल्सको स्थापना गरिएपछि मात्र भएको मानिन्छ । नेपालका ४२ वटा जिल्लामा उखुको खेती गरिए पनि १५ वटा जिल्लामा मात्र व्यावसायिक खेती गरिन्छ ।
