देशभरि १८ खेलको प्रतियोगिता गर्दै मदन भण्डारी एकेडेमी
काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता आयोजना गर्ने भएको छ । खेल प्रतियोगितासँगै प्रशिक्षण तथा अन्तरक्रिया पनि गरिने भएको छ ।
एकेडेमीले पत्रकार सम्मेलन गर्दै राष्ट्रव्यापी खेल प्रतियोगिताबारे जानकारी दिएको हो । खेल पर्यटनलाई विकास गर्न सके देशको अर्थतन्त्र वृद्धिमा टेवा पुर्याउन सकिने एकेडेमीले जनाएको छ ।
एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।
यी खेल आयोजनामध्ये एकेडेमीले तेक्वान्दो, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्ने जनाएको छ ।
रोड रेसमा यू–२० र यू–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुने भएको छ । पोखरा वा काठमाडौंमा चैत २५ गतेदेखि आगामी वर्षको वैशाख ३ गतेसम्म केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट हुने भएको छ ।
उक्त प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र सेमिफाइनलिस्टले समान २ लाख पाउने छन् । बेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
सबैभन्दा पहिला पुरुष भलिबलबाट एकेडेमीले तय गरेको राष्ट्रव्यापी प्रतियोगिता सुरु हुनेछ । एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता बुटवलमा आगामी पुष १७ देखि २४ गतेसम्म आयोजना हुनेछ ।
उक्त प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ५० हजार र सान्त्वना पुरस्कार स्वरुप एक टोलीले १ लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
भारतको रेलवे टोलीले भलिबलमा प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । एकेडेमीले ७ प्रदेशमा ३२ औं मदनभण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ ।
कार्यक्रम आयोजना गर्न अनुमानित करिब १० करोड ६६ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ लागत लाग्ने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २ करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिता आयोजना गर्ने बताए ।
