युवालाई आकर्षित गर्न देशव्यापी क्रिकेट च्याम्पियनसिपको तयारी
काठमाडौँ । क्रिकेटप्रति युवाको आकर्षण बढाउँदै युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले देशभरि क्रिकेट प्रतियोगिताहरु सञ्चालन गरिने भएको छ । यसका लागि ‘ई प्लानेट नेसनल हाइस्कुल टी-टेन क्रिकेट च्याम्पियनसिप’ सञ्चालन गरिने भएको हो ।
हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा माघ ९ देखि १२ गतेसम्म च्याम्पियनसिप आयोजना गरिने जनाइएको छ । यसमा देशभरका कलेजबाट सहभागिता हुनेछ ।
त्यसअघि सातै प्रदेशमा छनोट प्रतियोगिता गरिने हाइपएतीको सिइओ एलिजा थापाले बताइन् । छनोट प्रतियोगिता पुस ३ गते हुने आयोजकले जनाएको छ ।
इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेत, धनगढी र काठमाडौँमा प्रदेश छनोट हुनेछन् । सात प्रदेश र आयोजकको एक गरी ८ टोलीले टी–टेनमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।
नकआउटका आधारमा हुने यस प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् । ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता सुरू गर्न लागिएको बताए ।
प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रदेश विजेताले ५० हजार रूपैयाँ पाउनेछ । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् भने विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् ।
