दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतद्वारा अस्वीकार

काठमाडौं । विद्युतीय कसूर आरोपमा पक्राउ परेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो ।

इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । निराजनले गृहमन्त्रालय समेतलाई विपक्षी बनाएर दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले यस्तो आदेश गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि मंसिर ४ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

मंसिर ९ गते दायर गरिएको रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाइएको थियो ।

प्रहरीले जिल्ला अदालत, काठमाडौँको अनुमति लिएर प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीमाथि साइबर अपराध, सरकारी कागजात कीर्ते लगायतको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *