‘हनी ट्रयाप’ मा पार्दै रकम असुल्ने समूह पक्राउ
काठमाडौँ । अनेक बहाना बनाउँदै रकम असुल्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ परेको छ । उनीहरुको समूहमा रहेका अर्का एक जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उक्त समूहले मेडिकल जाँच गर्ने भन्दै ‘हनी ट्रयाप’ मा पारेर रकम असुल्न गरेको प्रहरीले जनाएको छ । भक्तपुरको ठिमीमा वर्षाले घाउ सफा गर्ने भन्दै अनलाइनबाट सम्पर्क गरी आफू एक्लै भएको समयमा कोठामा बोलाएर शारीरिक सम्पर्क भएको आरोप लगाई रकम असुल्न खोजेको आरोप छ ।
रकम नदिए बलात्कार कसुरमा फसाइदिने भनेर धम्क्याउँदै १८ लाख रुपैयाँ माग गरिएको खुलेको छ । कुराकानी गर्दै जाँदा ८ लाख रुपैयाँ दिने सहमति भएको थियो ।
सुरुमा २५ हजार दिएको अनि क्युआरमार्फत थप २५ हजार पीडित युवाले पठाएका थिए । ७५ हजारको चेक समेत ती युवाले उक्त समूहलाई दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
