दृष्टिविहीन क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं । नेपालले दृष्टिविहीन क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ । पाकिस्तानमा जारी विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको हो ।

नेपालका नरेश चौधरीले उत्कृष्ट प्रदर्शन गरे। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।

नेपालका लागि ओपनर भरत थापाले ११ रन बनाउँदा नरेशले ५७ बलमा ८० रनको योगदान गरे। उनले चार चौकाको सहयोगमा ८० रन प्रहार गरेका हुन्।

त्यसैगरी सागर लामाले ४० रन जोड्दा पदक बडाइलाको नाममा ३४ रन रह्यो। नेपालविरुद्ध दक्षिण अफ्रिकाले सात बलर प्रयोग गरेको भए पनि बुहले बिड्लाले मात्र विकेट लिन सके ।

यता, नेपालका भरत, नरेश र सागर रनआउट भए। जवाफमा एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा दुई विकेट मात्रै गुमाए पनि एक सय ८७ रन मात्रै बनाउन सक्यो।

लक्ष्य नजिक पुगेको भए पनि जित दर्ता गर्न सकेन। उसका लागि ओपनर लेसिवा माथापोले ४६ रन बनाए भने बुहलेले ७१ बलमा शतक प्रहार गरे। उनले ८ चौकाको मद्दतमा सय रन बनाएका हुन्।

नेपाली खेलाडी विकेटविहीन बन्दा दक्षिण अफ्रिकाका दुई खेलाडी रनआउट भए। नेपाल नेत्रहीन टोलीले हिजो भएको खेलमा अफगानिस्तानलाई एक सय ८ रनले हराएको थियो। त्यसअघि भएका दुई खेलमा भने नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *