नेपाली चिया अब चीनतिर पनि
इलामको कन्यामस्थित चिया बगान । तस्बिरः टेकराज गिरी
इलाम । अर्थोडक्स चिया उत्पादनमा अग्रणाी रहेको इलामको गोर्खा टी इस्टेटले चीनमा चिया निर्यात थालेको छ । यसअघि भारतसहित अन्य विभिन्न मुलुकमा उक्त उद्योगले चिया निर्यात गर्दै आएको छ ।
नेपाल भ्रमणमा आउने चिनियाँ व्यवसायीले व्यक्तिगत रूपमा किनेर लैजाने गरेकामा अबदेखि भने औपचारिक रूपमा निर्यात गर्न थालिएको उद्योग व्यवस्थापनले जनाएको छ ।
मेची भन्सार कार्यालयका अनुसार यसै साता पूर्वी नाकाबाट कोलकाता हुँदै करिब ७० लाख मूल्यको ६ हजार ३ सय ६२ किलो चिया चीन निर्यात भएको छ । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको हो ।
गोर्खा टी इस्टेटका संस्थापक उदय चापागाईँका अनुसार गुणस्तरीय नेपाली चियाका लागि चीन राम्रो बजार भएकाले निर्यात गर्न थालिएको हो । प्रयोगशालामा परीक्षण लगायत सबै प्रक्रिया पूरा गरेर चिया पठाइएको उनले बताए ।
इलामको फिक्कलका चिया उद्यमी दिनेश अग्रवालका अनुसार गुणस्तरयुक्त नेपाली चियाको माग चीनमा मात्र होइन समुद्रपारका मुलुकमा पनि छ । अन्तर्राष्ट्रिय बजारमा पकड जमाउनका लागि चिया रोपणदेखि उत्पादनसम्म गुणस्तरमा ध्यान दिनु्पर्ने उनको सुझाव छ ।
नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलो अर्थाेडक्स चिया उत्पादन गर्दै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थाेडक्स चिया भारत निकासी हुँदै आएको छ ।
