बिर्तामोड आँखा अस्पतालमा अब कानको पनि उपचार

झापा । आँखा उपचारमा नाम कमाएको बिर्तामोडस्थिते मेची आँखा अस्पतालमा अब कानको पनि उपचार हुने भएको छ । यो अस्पताल झण्डै तीन दशकदेखि समुदायद्वारा सञ्चालनमा छ ।

कान उपचारका लागि तयार पारिएको कक्षको बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी छन् । अस्पतालमा कानको उपचार सेवा थपिएपछि सेवाग्राहीलाई अझ लाभ मिल्ने अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

उनले सर्वसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उद्देश्यले कानको उपचार सेवा थप गरिएको बताए । केही समयमा कानको शल्यक्रिया सहितको उपचार सेवा पनि सुरु हुने अध्यक्ष गुरुङले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डक्टर पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताए । त्यस्तै, १ हजार जनामा ५२ जनामा कानको समस्या रहने गरेको उनले बताए । आँखा र कानको उपचार एकअर्कासँग सम्बन्धित बिराम भएको हुनाले उपचार सेवा थप गरिएको उनको भनाइ छ ।

यसअघि कानको उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको थियो । अब दक्ष जनशक्तिको संलग्नतामा उपचार सेवा सुरु गरेपछि यही अस्पतालमा सुविधा उपलब्ध हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *