इलाम गोल्डकप मंसिर २२ देखि, विजेतालाई १० लाख
इलाम । फुटबल भनेपछि मरिहत्ते गर्ने दर्शक अनि प्रतिभाशाली खेलाडीको भूमि इलाममा मंसिर तेस्रो साता प्रतिष्ठित प्रतियोगिता आयोजना हुने भएको छ ।
यसको तयारी धमाधम भइरहेको आयोजकले जनाएको छ । मंसिर २२ गतेदेखि ‘एनआरएनए इलाम गोल्डकप’ हुने भएको हो । आयोजक रेडहर्स फुटवल क्लब इलामले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
गत वर्षदेखि शुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । मंसिर २२ देखि सुरु भएर २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा विभागीय टिमसहित विभिन्न क्लबहरुले सहभागिता जनाउँदैछन् ।
प्रतियोगितामा संकटा, त्रिभुवन आर्मी, चर्च ब्वाइइज युनाइटेड, एनआरटी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सदस्य निरोज खड्गीले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने खड्गीले बताए । प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ । तारा–रोजु सापकोटा च्यारिटेवल ट्रष्टले दोस्रो पुरस्कारका लागि ५ लाख उपलब्ध गराएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संस्थाका सचिव प्रकाश घिमिरेले बताए । ‘गत वर्षभन्दा पुरस्कार दोब्बर बनाइएको छ’ उनले भने, ‘महंगी बढेको अनि खेलमैदान स्तरीकरण गर्न पनि ठूलो खर्च लागेकाले आयोजनाको खर्च बढ्ने देखिएको हो ।’
यसैगरी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई ११ हजार रुपैयाँले पुरस्कृत गरिने जनाइएको छ । यस्तै, म्यान अफ द म्याचलाई ७ हजार पाँचसय रुपैयाँले पुरस्कृत गरिने रेडहर्सका सचिव घिमिरेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रेडहर्स फुटबल क्लबका अध्यक्ष सांगे येल्मुले ‘इलाम गोल्डकप स्पोट्र्स जर्नालिजम अवार्ड’ को पनि घोषणा गरे । इलामको खेल क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई सो अवार्ड प्रदान गरिने आयोजकले बताएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा बिर्तामोड युनाइटेडलाई हराउँदै उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको थियो । त्यसबेला विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाएका थिए ।

