दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानलाई हरायो
काठमाडौं । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप टि-२० क्रिकेट प्रतियोगिता नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ८ को फराकिलो रन स्कोरले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय २८ रनको चनौती खडा गरेको थियो । उपकप्तान पदमबहादुर बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन, नरेश चौधरीले ६२ बलमा अविजित ७२ रन, भरत थापाले २१ तथा सागर लामाले ४ रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिए ।
अफगानिस्तानले पाएको २ सय २९ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा सबै विकेट गुमाएर १ सय २० रनमै सीमित भयो । अबाशिनले ५२, द्वारनले २१ र शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले ३ तथा भरत थापा, अमिश गुरागाईं र सुनिल सुवेदी क्षेत्रीले १–१ विकेट लिए ।
नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । उक्त खेल जिते नेपाल सेमिफाइनलमा स्थान बनाउने छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।
