लक्ष्मी उप्रेती सेवा पुरस्कार घोषणा

विराटनगर । नेपाली साहित्यको विविध विधामा स्थापित अग्रज साहित्यकार लक्ष्मी उप्रेतीका छोरा सञ्जय उप्रेती र छोरीहरू सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको नाममा पुरस्कार स्थापना गरेका छन् ।

गत वर्ष आमाको कर्मशील जीवनको सम्मान गर्दै १५ लाख राशिको अक्षय कोषको घोषणा गरिएको थियो । त्यसैअनुसार यस वर्षदेखि हरेक वर्ष त्यसको ब्याजबाट कुनै एक क्षेत्रको उल्लेखनीय कार्य गर्ने एक व्यक्तिलाई वर्षको उत्कृष्ट सम्मान गरिने भएको छ ।

सम्बन्धित व्यक्तिलाई एक लाख एक सय रुपैयाँसहित ‘साहित्यिकार लक्ष्मी उप्रेती सिर्जनशील पुरस्कार’ प्रदान गर्ने घोषणा गरिएको हो । यसैगरी, साहित्यिक क्षेत्रका नवोदित प्रतिभालाई प्रोत्साहन स्वरूप १० हजार १०० रुपैयाँसहित सम्मान गरिने भएको छ ।

पुरस्कार संस्थापकहरू तथा संस्थाको निर्णयअनुसार यस वर्षको ‘साहित्यकार लक्ष्मी उप्रेती सिर्जनशील पुरस्कार’ काठमाडौं निवासी क्रिकेट खेलाडी विजयकुमार शर्मालाई प्रदान गरिने भएको छ ।

शर्माले २०३७ सालमा सुरु भएको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेट लिएका थिए र सो रेकर्ड हालसम्मकै नेपाली क्रिकेट खेलको इतिहासमा ऐतिहासिक मानिन्छ ।

उनी नेपाली क्रिकेट टोलीलाई नेतृत्व प्रदान गर्दै बङ्गलादेश, पाकिस्तान, न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्गलेण्ड, सिङ्गापुर आदि मुलुकसम्म पुर्याउन सफल भइ विभिन्न पदकहरू समेत दिलाएर नेपाली क्रिकेटको इतिहासमा आफ्नो नाम उच्च राख्दै नेपाललाई विश्वसामु चिनाउन सफल भएका छन् ।

हाल नेपाल क्रिकेट संघका उपाध्यक्ष र कार्यकारी सदस्य रहेका शर्माले प्रशिक्षक तथा निर्णायक भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाएका छन् । शर्मा भेट्रान क्रिकेट एसोसिएसन नेपालका अध्यक्ष पनि हुन् ।

त्यसैगरी २०८१ सालको साहित्यकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कारबाट सुनसरीकी (हाल मोरङ) साहित्यकार राधा भट्टराई गौतमलाई प्रदान गर्ने निर्णय भएको जानकारी संस्थाका महासचिव दिङ्गलाली कान्छोले दिए ।

साहित्यकार भट्टराईका नेपाली साहित्यका गजल, मुक्तक, लघुकथा, कविता आदि क्षेत्रमा कृति तथा रचनाहरू प्रकाशित छन्। घोषित पुरस्कारहरू काठमाडौंमा चाँडै एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिने भएको छ ।


प्रतिक्रिया

One thought on “लक्ष्मी उप्रेती सेवा पुरस्कार घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *