चिया क्षेत्रको समस्या समाधानका लागि ऐन बनाउन माग
इलामको कन्यामस्थित चिया बगान । तस्बिरः टेकराज गिरी
झापा । चिया क्षेत्रको समस्या समाधान गर्न प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन सहयोगको अपेक्षासहित सोमबार सभामुखको ध्यानाकर्षण गराइएको हो ।
चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयनलगायत विषयमा झापाका चिया सरोकारवालाले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाए । चिया समन्वय समितिका संयोजक आदित्य पराजुली सहितको टोलीले सभामुखको निजी निवासमा भेटेर पत्र बुझाएको हो ।
नेपालमा चिया रोपण भएको एक सय ६१ वर्ष पुग्दा चिया ऐन निर्माण नभएकोबारे सभामुख घिमिरेलाई अवगत गराइएको पराजुलीले बताए । चार अर्ब विदेशी मुद्रासहित वार्षिक ११ अर्बको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको समितिले उल्लेख गरेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले कोशी प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि संघ र प्रदेश सरकारबीच ‘एमओयू’ गर्नुपर्ने बताए । उनले एमओयूका लागि प्रदेश सरकारको कृषि मन्त्रालय तयार रहेकाले सङ्घीय कृषि मन्त्रालयमा समन्वय गरिदिन सभामुख घिमिरे समक्ष अनुरोध गरे ।
ऐन कानुन नहुँदा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको चार करोड १० लाख फ्रिज भएको थियो । ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले चिया क्षेत्रको समस्या समाधानमा पहल गर्ने आश्वासन दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले ऐन बनाउने कुरामा आफ्नो तर्फबाट पूरै पहल हुने आश्वासन दिएका थिए । कार्यक्रममा चिया समन्वय समितिका सदस्य सचिव हर्कबहादुर तामाङ, सदस्य कृष्णप्रसाद पोखरेल, सीता सापकोटा, सन्त राई, नेकपा (एमाले) झापा अध्यक्ष प्रेम गिरी, एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईलगायतको उपस्थिति थियो ।
