‘बिर्तामोड झापा कप’ फुटबल प्रतियोगिता मंसिर २९ देखि
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठूलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।
क्लबको आयोजनामा मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा ‘बिर्तामोड झापा कप’ अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।
झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
यसअघि सोही रंगशालामा गुरुङकै अगुवाईमा झापा गोल्डकपको सुरुवात भएको थियो । पत्रकार सम्मेलनमा गुरुङले फुटबलको राजनीति गरेर नेता बन्नभन्दा पनि फुटबलको विकास गर्दै खेलाडी उत्पादनका लागि प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।
त्यस्तै, विराट गोल्डकप, कटारी गोल्डकप, माइभ्याली गोल्डकप, मानेभञ्ज्याङ गोल्डकप, भीमनारायण गोल्डकप, काँकरभिट्टा गोल्डकपजस्ता प्रतियोगिताहरुमा विजेता भएको झापा ११ सिक्किमको गभर्नर्स गोल्डकप तथा झापा गोल्डकपको पाँचौँ संस्करणसम्म उपविजेता रहेको छ ।
यो सिजन मोरङको बेलबारीमा सम्पन्न बेलबारी गोल्डकपको उपाधि हात पारेर उत्कृष्ट लयमा रहेको पुष्टि गरिसकेको क्लबका अध्यक्ष गुरुङले बताए ।
