प्रदेशको नाम फेर्न माग गर्दै पहिचान पक्षधरद्वारा आन्दोलन घोषणा
फाइल तस्बिर
विराटनगर । पहिचान पक्षधर संगठनहरुले कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । पहिचानको आवाज उठाउँदै आएको ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो ।
यसअघि आइतबार विराटनगरमा पहिचान पक्षधर संगठनहरुले प्रदर्शन गरेका थिए । समितिले आगामी फागुन १७ गतेलाई ‘कालो दिवस’ का रूपमा मनाउने जनाएको छ । चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप आन्दोलन गर्ने चेतावनी पनि समितिले दिएको छ ।
प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हडताल गर्ने समितिको भनाइ छ । कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरुलाई ‘निषेध’ गर्ने घोषणा पनि समितिले गरेको छ ।
विभिन्न ठाउँमा लेखिएको प्रदेशको नाम ‘कोशी’ मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेको छ । कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने र नमानेमा स्पष्टीकरणको ‘कारबाही’ गर्ने जनाइएको छ ।
कोशी प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतबाट २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोशी’ राखिएको थियो । त्यसयता पहिचान पक्षधर संगठनहरुले आन्दोलन गर्दै आएका छन् । विराटनगरकेन्द्रित आन्दोलनमा सहभागी भएका पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भएको थियो । आन्दोलनका क्रममा १ सय ५० जनाभन्दा बढी आन्दोलनकारी र केही सुरक्षाकर्मी घाइते भएका थिए ।
