जसले चिट्ठामा ३ करोड ११ लाख डलर जिते

क्यानाडा। अन्टारियोको थोर्नहिलका भिन्सेन्ट चार्लमेन ठूलो धनराशिको चिट्ठा पटकपटक जित्ने भाग्यशाली व्यक्तिका रुपमा चिनिएका छन्। उनले हालैमात्र तेस्रो पटक लाखौं क्यानेडियन डलरको चिट्ठा जितेका छन्।

उनले पहिलो पटक २०१३ अगस्ट ३० मा ३ करोड डलरको ‘लोट्टो म्याक्स’ चिट्ठा जितेका थिए। त्यसयता पनि उनी लगातार चिट्ठा किनिरहेका छन्। त्यसपछि २०२१ को फेब्रुअरी २६ मा उनले फेरी १० लाख डलरको चिट्ठा जिते। उनले लोट्टो म्याक्सको म्याक्समिलियन्स चिट्ठा जितेका हुन्।

यसैगरी २०२४ अगस्ट ९ मा उनले अर्को पटक चिट्ठा जिते। एनकोरको उक्त चिट्ठावापत उनले १ लाख डलर जिते। पटक पटक चिट्ठाबाट ठूलो रकम जित्न सफल भएका उनी अझै पनि चिट्ठाको टिकट किनिरहने बताउँछन्।

उनी ठेकेदारका रूपमा रोजगारी गर्दै आएका थिए। अहिले भने काम छाडे। ३ करोड डलरको चिट्ठा जित्दा आफूलाई विश्वासै नलागेको उनले याहु न्युजसँग बताएका छन्। त्यसबेला आफ्नो चिट्ठाको नम्बर पटक पटक जाँच गरेको उनले बताए। त्यति गर्दा पनि आफूले केही डलरमात्र जितें हुँला भन्ने लागेको तर त्यति रकम हात पर्दा आफू रोमाञ्चित भएको उनले सुनाए।

पहिलो चिट्ठा जित्दा केही अलमल पनि भएको थियो। उनले आफ्नो चिट्ठा टिकटमा हस्ताक्षर गर्दा ‘टोनी’ लेखेका थिए। ओएलजीले सोधीखोजी गर्यो। अन्ततः उनै भिन्सेन्ट (कानुनी नाम) कै चिट्ठा भएको पुष्टि भएपछि रकम पाए।

धेरैले चिट्ठा पर्ने आशामा टिकट किनिरहेका हुन्छन् तर सबै भाग्यमानी साबित हुँदैनन्। भिन्सेन्ट भने लगातार चिट्ठा जितेर अपवाद बनेका छन्।

(नेपाल टचबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *