सुकुना क्याम्पसलाई आयोगबाट दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायन
विराटनगर । सुकुना बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट संस्थागत रुपमा दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेपछि क्याम्पस परिवार, विद्यार्थी, अभिभावक सबै उत्साहित भएका छन्।
मोरङको सुन्दरहरैँचास्थित उक्त क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेपछि आगामी दिनमा अझ मेहनत गरेर काम गर्ने प्रेरणा मिलेको सरोकारवालाले बताएका छन्।
यसै सन्दर्भमा सोमबार क्याम्पसका शिक्षक तथा कर्मचारीको बैठक राखिएको थियो । त्यस क्रममा विश्वविद्यालय अनुदान आयोग नेपालबाट क्याम्पसले संस्थागत दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेको औपचारिक जानकारी दिइएको थियो ।

यस उपलक्ष्यमा बधाई आदान प्रदान गर्ने र सरोकारवाला सबैलाई धन्यवाद दिने उद्देश्यले बैठक आह्वान गरिएको परीक्षा फाँटका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।
बैठकमा पब्लिक क्याम्पस कर्मचारी सङ्घका एकाइ समितिका अध्यक्ष देवराज गिरीले संबोधन गर्दै दोस्रो चरणको क्याम्पसको उन्नतिका लागि खट्ने सबै शिक्षक तथा कर्मचारीहरूलाई बधाई दिँदै क्याम्पसको सफलतामा खुशी व्यक्त गरे ।
त्यसैगरी पब्लिक क्याम्पस प्राध्यापक सङ्घ एकाइ समितिका अध्यक्ष जनार्दन गुरागाईँले क्याम्पस प्रशासन, अहोरात्र खट्ने शिक्षक, कर्मचारी साथै सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरे ।

निवर्तमान क्याम्पस प्रमुख चन्द्रमणि राईले बैठकलाई संबोधन गर्दै कुनै रहर गर्दैमा यस्तो अवसर नपाइने, टिम मिलाएर निरन्तर खटिरहनु पर्ने बताउँदै क्याम्पसले सफलता प्राप्त गरेकोमा प्रसन्नता प्रकट व्यक्त गरे ।
कार्यक्रममा स्वमूल्याङ्कक समितिका प्रमुख नरप्रसाद भण्डारीले सबैलाई स्वागत गर्दै बैठकको औचित्य र पहिलो तथा दोस्रो चरणको उपलब्धिबारे भनाइ राखेका थिए ।
बैठकको अध्यक्षता गरेका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको सफलताका लागि खट्ने र सहयोगी भूमिका निर्वाह गर्ने सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, अभिभावक, विभिन्न सरोकारवाला सङ्घ संस्थाहरू, शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई धन्यवाद दिए । बैठकको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले गरेका थिए ।
