यस्तो छ सूर्य उपासनाको पर्व छठ (सूर्यषष्टी ब्रत) को विधि र महत्व

नेपाल बहुजातीय, बहुभाषीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । विविध जातजाति, भेषभूषा, रीतिरिवाज, धर्म, संस्कृति, रहनसहन र परम्पराहरु यहाँका सम्पदा हुन् । नेपालमा थुप्रै चाडपर्व मनाइन्छ । यी चाडपर्वमा बिशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वको महत्वपूर्ण स्थान छ । छठ पर्व धार्मिक, साँस्कृतिक एवं सद्भाव बढाउने पर्व हो । सनातन परम्परादेखि चलिआएको यो पर्व नेपालको तराई–मधेशमा मात्र नभएर काठमाडौं उपत्यकालगायत नेपालका धेरैजसो सहरी क्षेत्रहरुमा धुमधामका साथ मनाइन्छ । यस पर्वलाई छइठ, छठी, डालाछठ वा सूर्यषष्टी ब्रत पनि भन्ने गरिन्छ ।

नेपाल सरकारले कार्तिक शुक्ल षष्ठी तिथिका दिन र कोशी प्रदेश सरकारले षष्ठी र सप्तमी तिथिका दिन सार्वजनिक बिदा दिएर छठ पर्वको महत्तालाई अझ उजागर गरेको छ ।

श्रृष्टिको शुरुवातदेखि नै सूर्यको उपासना गरिदै आएको पाइन्छ । हिन्दूहरुको प्राचीन ग्रन्थ ऋग्वेदमा पनि सूर्य उपासनाको उल्लेख छ । ऋग्वेदको चौधौँ अध्यायमा सूर्यलाई विश्वको आत्मा मानिएको छ ।

अथर्ववेदमा सूर्यलाई ब्रम्हको साकार रुप मानिएको छ, सूर्यलाई नै भगवान भनिएको छ । ओम भू भुव स्व तत्सविर्तुवरेण्यं भर्गोदेवस्य धी मही धियो योनः प्रचोदयात भनिने गायत्री मन्त्रमा सूर्यको प्रार्थना गरिएको छ । भविष्य पुराणमा उल्लेख भएअनुसार सूर्य प्रत्यक्ष देखिने देवता हुन्, सूर्य समस्त जगतका आँखा हुन् र सूर्यबाट नै दिनको सिर्जना हुन्छ । सूर्य शक्तिमान छन् र भेदभावरहित भई आफ्नो प्रकाश छर्दछन् ।

वेदहरूमा सूर्यलाई १४ वटा पर्यायवाची नामले सम्बोधन गरिएको छ । महाभारतमा सूर्यको १०८ र अमरकोशमा ५४ वटा पर्यायवाची नाम पाइन्छ भने ब्रहृम पुराणको सूर्य सहस्रनामस्तोत्रमा सूर्यको एक सहस्र नामको उल्लेख पाइन्छ ।

अग्निपुराणमा पनि षष्ठीब्रतको प्रसंग उल्लेख छ । सूर्य पुराणमा अत्रिमुनीकी पत्नी अनुसुय्याले छठब्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको प्रसङ्ग छ । भागवत पुराणमा राजा प्रियवतले षष्ठीदेवीको पूजाबाट पुत्र प्राप्त गरेको र शाम्ब पुराणमा शाम्बले सूर्योपासना गरी कुष्ठरोगबाट मुक्त भएको कथाहरू पाइन्छ ।

महाभारत वनपर्व सूर्योपनिषदमा सूर्यलाई ब्रम्हा, बिष्णु र रुद्र भनिएको छ । ऋग्वेदमा सूर्यसम्बन्धी १० वटा सूक्त छ । ऋग्वेदमा सूर्यको उद्भव विराट पुरुष भगवानको आँखाबाट भएको उल्लेख छ भने याज्ञवल्क्यद्वारा रचित सूर्यस्तोत्रमा सूर्यलाई अग्नि र सोमबाट उद्भव भएको भनिएको छ ।

लोकमानसमा सूर्यको उपासना आदिमकालदेखि प्रचलित हुँदै आएको छ । सम्पूर्ण संसारलाई पक्षपातरहित प्रकाशित गर्नु सूर्यको विशेषता हो । वेदहरूमा सूर्यको भव्य, गरिमामय, उज्ज्वल र दिव्य रूप वर्णन गरिएको पाइन्छ ।

वेदको एउटा मन्त्रमा सूर्यलाई आकाशको सुनौलो रत्न भनिएको छ । सूर्योपासनाका आधारमा छठ पर्वलाई प्राचीन पर्व मानिए पनि यस पर्वको विधिवत शुरुवात कहिलेदेखि भयो भन्ने कुराको ठोस प्रमाणहरु पाइँदैन ।

श्रीमद् भागवतको कथाअनुसार सत्राजीत नाम गरेको एक यादवले शरद ऋतुमा सूर्यको उपासना गरेपछि सेवन्त नाम गरेको प्रकाशमान मणिमाला प्राप्त गरेको पाइन्छ भने रामायणकालमा अगत्स्य ऋषिले भगवान रामचन्द्रलाई सूर्यमन्त्र सुनाएको एवम हनुमानले सूर्य भगवानलाई आफ्नो गुरु बनाएको तथा राजा दशरथकी महारानी कौशल्या र जनकपुत्री सीता माताले छठव्रत गर्नु भएको लोककथाहरू पनि पाइन्छ ।

छठ पर्वको शुरुवातको सम्बन्धमा व्याप्त किम्वदन्तीहरुमध्ये महाभारतकालमा चौध वर्ष वनवासको बेला रानी कुन्ती द्रौपदीसहित पाँचै पाण्डवहरुले यो षष्ठीब्रत गरेको तथा पाण्डवहरुले विराटराजाको दरबारमा एक वर्ष गुप्तवास बिताउने क्रममा द्रौपदीले छठव्रत गर्नु भएको भन्ने किम्वदन्ती पाइन्छ ।

आज पनि मिथिला क्षेत्रमा छठ पर्व विशेष रूपले मनाउने प्रचलन छ । यसैगरी भारतमा गुप्तकालीन समयमा सूर्यको पूजा र प्रार्थना गर्ने भावनाको झन विकास भएर गएको पाइन्छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार यो ब्रत आचार, नियम र आस्था एवं निष्ठाका साथ जो कोहीले पनि लिन सक्दछ । यस पर्वमा जाति, धर्म, लिङ्गको विभेद र बन्धन छ्रैन । सूर्यको पूजा हिन्दूहरुले मात्र नभई बौद्ध धर्म मान्नेहरुले पनि गर्ने गरेको बौद्ध पालि धर्मग्रन्थहरुबाट प्रमाणित हुन्छ ।

भविष्य पुराणमा उल्लेख भएअनुसार सूर्यको उपासनाबाट शौभाग्य, अतुलकान्ति, श्रीसौन्दर्य, धर्म र आरोग्यता प्राप्त हुने र शत्रुनास हुने हुन्छ । भक्तिभावले सूर्य भगवानसँग जुनसुकै बर मागे पनि पूरा भई मनोकामना पूर्ण हुने र सूर्याेपासक मनुष्यलाई धन, आयु, यश, बिद्या र अतुल प्रभाव प्राप्त हुन्छ भन्ने आत्मविश्वास पाइन्छ ।

हिन्दू परम्पराअनुसार नामाकरण संस्कारको समयमा बालबालिकालाई सूर्यको दर्शन गर्न लगाइन्छ । यसैगरी नेवार समाजमा बेल विवाह संस्कार (इही) भन्दा पहिले कन्याहरुलाई गुफा राखी गुफाबाट निकालेर सर्वप्रथम सूर्यको दर्शन गराउने प्रचलन छ ।

वैज्ञानिक मान्यताअनुसार सूर्यको प्रकाशबाट भिटामिन डी प्राप्त हुने र सूर्यको प्रकाशले चर्मरोग निको हुन्छ भन्ने विश्वास गरिन्छ । प्राकृतिक चिकित्सा पद्दतिमा पनि सूर्य नमस्कार तथा सूर्य रश्मीको महत्व रहेको पाइन्छ ।

शरद ऋतु आगमनसँगै शुरु हुने छठ पर्वले हाम्रो दैनिक जीवनमा सूर्यको महत्व समेतलाई दर्शाएको छ र यस पर्वमा शिव र शक्तिको संयुक्त पूजा हुन्छ । संस्कृतिबिद् डा. रामदयाल राकेशका अनुसार सूर्यको उपासना गर्ने चलन नेपाल र भारतमा मात्र नभएर सूर्याेदयको देश मानिने जापानमा पनि छ ।

उदाउँदो र अस्ताउँदो सूर्यको प्रकाश मानव शरीरमा प्रवेश गर्दा नयाँ स्फूर्ति, नयाँ ऊर्जा उत्पन्न हुन्छ । बिहानको सूर्यको प्रकाश शरीरमा प्रवेश गरेपछि अनेकौं रोग निको हुँदै जान्छन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्व उपप्राध्यापक केशवप्रसाद खरेलका अनुसार अन्धकाररुपी शत्रुलाई नष्ट गरी प्रकाश पुञ्जले मानव जातिलाई अभिप्रेरित गरी अटल शौभाग्यशाली सूर्य भगवान चराचर जगतको कल्याणमा सदा लागि परेको देखिन्छ, उनी शक्तिका अधिष्ठाता र रोगमुक्तक हुन् ।

जानकारहरुका अनुसार कार्तिक शुक्ल प्रतिपदादेखि सप्तमीसम्म सूर्यको किरणमा पूर्णतया अमृत तत्व रहने भएको हुनाले सूर्यको उपासना गरिने परम्परा छ । दिवंगवत संस्कृतिबिद् सत्यमोहन जोशीले अनुसार सूर्यको उपासना नै छठ पर्व हो, सूर्यको प्रकाशबाट भिटामिन डी प्राप्त हुने भएकोले शरीर बिज्ञानमा पनि यस व्रतको उत्तिकै महत्व छ भनेका थिए ।

नारायणस्थान मन्दिरका पूर्व पूजारी उपेन्द्र पोखरेलका अनुसार सूर्यमा पुरुष र प्रकृति दुबै तत्व अन्तरनिहीत रहेकोले सूर्यलाई शक्तिरूप र पुरुषरूप दुबै भावले पूजाअर्चना र उपासना गरिन्छ एवं मनोकामना पूर्ण हुने बिश्वास गरिन्छ ।

छठ पर्व कार्तिक शुक्ल चौथी तिथिदेखि प्रारम्भ हुन्छ । छठको ब्रत राख्ने श्रद्धालुले चौथीको दिन नुहाईधुवाई गरी चोखो सात्विक खानेकुरा खान्छन्, जसलाई नहायखाय भनिन्छ ।

पञ्चमीको दिन दिनभरि उपवास रहेर साँझ खीर, पुरी पकाई व्रतालुले त्यही खीर छठ परमेश्वरीलाई चढाएर प्रसादको रूपमा आफूले खाने र अरुलाई पनि बाँड्ने गर्दछन्, यसलाई खरना भनिन्छ ।

षष्टीको दिन ब्रतालुले बिहानैदेखि पूर्ण रुपमा निराहार उपवास बस्नु पर्दछ । सूर्य भगवानलाई अर्घ दिन पकाइने ठेकुवा (गहुँको पीठोबाट तयार गरिएको एकप्रकारको पकपान), कसार (चामलको पीठोबाट तयार गरिएको परिकार), खाजा मिठाई, पुरी जस्ता प्रसाद बनाउन ब्रतालु स्वयं नै लाग्नु पर्ने हुन्छ भने प्रसाद बनाउन सघाउने व्यक्ति पनि शारीरिक रुपमा पवित्र र शुद्ध हुनु पर्दछ ।

यसैगरी फलफूलमा केरा, नरिवल, उखु, भोगटे, सुन्तला, कागती, ज्यामिर, स्याउ, बोटसहितको अदुवा, बेसार, हलेदो, मुला, बोडी, जस्ता फलफूल आवश्यक हुन्छन् भने सुठुनी जस्ता कन्दमूल एवम अंकुरको लागि भिजाएको केराउ र अलुवा चामल पनि आवश्यक हुन्छ ।

षष्टीको दिन साँझपख प्रसाद, फलफूल र पूजाका अन्य सबै सामाग्रीहरु ढाकीमा राखेर नदी खोला, पोखरी वा पानीको मूल भएको ठाउँमा लगी पूजाको लागि तयार गरिएको स्थानमा राखिन्छ । यसपछि ब्रतालुले पश्चिम दिशामा अस्ताउन लागेको सूर्यतिर फर्केर पूजाका सबै सामग्रीहरु सुपली (एकप्रसारको बाँसको थाली) मा राखी सुपलीलाई दुबै हातमा लिएर पालैपालो अर्घ दिन्छन् ।

यसलाई साँझघाट भनिन्छ । भोलिपल्ट सप्तमीको बिहान पनि यसरी नै व्रतालुले पूर्व दिशामा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि ब्रत सम्पन्न हुन्छ र सबैले प्रसाद ग्रहण गरे पछि छठ पर्व सम्पन्न हुन्छ जसलाई पारन भनिन्छ ।

यसरी पञ्चमीको बिहानदेखि शुरु भएको छठब्रत अन्तर्गत सप्तमीको बिहानसम्ममा ब्रतालुले एकपल्ट मात्र पञ्चमीको दिन साँझ खीर खान्छन् र व्रतको बेला पानी समेत नपिई निराहार बस्नु पर्ने हुँदा यस ब्रतलाई कठिन ब्रत पनि भनिएको छ ।

सूर्य भनेका आदिशक्ति हुन, सूर्य सर्वशक्तिमान र प्रत्यक्ष छन् । सूर्य बिनाको संसार अँध्यारो हुन्छ र उज्यालोको सिर्जना सूर्यबाटै हुन्छ । यसै हुनाले छठ पर्व (सूर्यषष्टी ब्रत) उल्लासमय वातावरणमा धुमधामका साथ मनाई सुखशान्ति, समृद्धि, सुस्वास्थ्य तथा कल्याणको कामना गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *