मध्यराति प्रहरीको छापाः तास खेलिरहेका २० जना पक्राउ
विराटनगर । प्रहरीले तास खेलिरहेको स्थानमा बुधबार मध्यराति छापा हानेर २० जनालाई पक्राउ गरेको छ । अलग अलग स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
विराटनगर महानगरपालिका–६ भट्टी मोडका विशाल देवान राईको घरमा तास खेलिरहेका १२ जना पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको संयुक्त टोलीले तासको खालमा छापा हानेको थियो ।
तास खेलिरहेका विराटनगर–२ का ३६ वर्षीय विशाल मण्डल, विराटनगर–६ का ५५ वर्षीय गंगाराम मण्डल, २८ वर्षीय शम्भु सहनी, ५५ वर्षीय मनबहादुर कार्की, ३२ वर्षीय भोला सहनी, रविकुमार महतो र ४१ वर्षीय रामकुमार सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, विराटनगर–११ का ३७ वर्षीय राजेश काफ्ले, ३६ वर्षीय शिवकुमार सहनी, २४ वर्षीय विशाल सहनी, ३० वर्षीय सञ्जीव सहनी र खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१४ का ३९ वर्षीय भरतकुमार राई पक्राउ परेका छन् ।
उनीहरुको साथबाट तास र ५४ हजार ७ सय १० रूपैयाँ बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । यस्तै, मोरङको कटहरी गाउँपालिका–२ का प्रभुकुमार साहको घरमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन् ।
तास खेलिरहेका घरधनी ५८ वर्षीय प्रभुकुमार साहसहित कटहरी–२ का ३२ वर्षीय सरोज ठाकुर, २८ वर्षीय सुजन साह, ६३ वर्षीय सुधीर बोहोरा, ४९ वर्षीय नारायण साह, ५३ वर्षीय शंकर साह, ३० वर्षीय सञ्जय रौनियार र कटहरी–१ का ४६ वर्षीय प्रदीपकुमार साह पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख १९ हजार ५ सय नेपाली र ४ हजार ६ सय भारतीय रूपैयाँ तथा ३ बुक ताससमेत बरामद गरिएको छ ।
