यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशलाई

विराटनगर । साबिक विजेता सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सुदूरले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो । सुदूरले नगद २ लाख तथा ट्रफी तथा उपविजेता लुम्विनीले १ लाख तथा ट्रफी हात पारे । यसअघि २०२२ मा कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरले लुम्बिनीलाई नै पराजित गरी उपाधि जितेको थियो ।

टस जितेर ब्याटिङ गरेको गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय २७ रनको योगफल बनायो । सुदूरका लागि अभिषेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश ऐर १४ रन र दिपक रोकायाले ११ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेटन राख्दै २८ रन दिए । रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।

१ सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाई १ सय १९ रन मात्र बनाउँन सक्यो । लुम्विनी आकाश त्रिपाथीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदुरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २–२ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफी हात पारे । प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।

विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *