मिथिलाञ्चल क्षेत्रमा सामा चकेवा पर्वको रमझम

जनकपुर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुक्ल पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछ ।

११औँ दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुन्छ । आजदेखि १० दिनसम्म मिथिलाञ्चला दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको दीर्घायुको कामना गर्दै मिथिलाको प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामा चकेवा खेल्ने छन् ।

आज बिहानै मिथिलाञ्चल क्षेत्रका दिदीबहिनीहरूले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् ।

सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइन्छ । रङ्गिन सामा चकेवालाई राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन छ ।

समूहगत रूपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका गीतहरु गाएर सामा चकेवा खेल्ने गर्छन् ।

दिदीबहिनीहरूले ११औँ दिनमा बिहानै सामा चकेवाहरुलाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाउँछन् ।

त्यसपछि सामा चकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीहरूले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गरेपछि पर्वको समापन हुने जलेश्वर नगरपालिका–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए ।

सामा चकेवा पर्व खेल्नाले दाजुभाइको सुस्वास्थ्य रहने, आयु लामो हुने र आर्थिक रूपमा समृद्धि हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जन विश्वास छ । सोही अनुरुप मिथिलाञ्चलको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्ला सीतामढी, पटना, दरभङ्गा, मुजफ्फरपुर, मधुबनीलगायतमा यो पर्व लोकप्रिय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *