यू-१९ राष्ट्रिय क्रिकेट : कर्णाली र सुदूरपश्चिम विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) भएको खेलमा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाई १ सय ३३ रनको योगफल बनाएको थियो ।

कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र युनिस ठकुरीले २१ रनको योगदान दिए । मधेसका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए । १ सय ३४ रनको लक्ष्य पाएको मधेस २७ दशमलव २ बलमा सबै विकेट गुमाई ८६ रनमा सीमित हुन पुग्यो । मधेसका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए ।

कर्णालीका प्लेयर अफ दी म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरीले ३ विकेट लिए । कर्णाली ५ खेलमा १ मा जित हात पार्दै २ अंककासाथ अन्तिम स्थानमा रहेको छ भने मधेस ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा सुदूरपश्चिमसँग कोशी प्रदेशले १ सय २३ रनको लज्जापद पराजय बेहोरेको छ । टस जितेर ब्याटिङ गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सबै विकेट गु्माई १ सय ८३ रन बनाएको थियो । सुदूरका सुवराज खत्रीले ४४ रन बनाउँदा अविषेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए ।

१ सय ८४ रनको विजयी लक्ष्य पाएको कोशी २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमा खुम्चियो । सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रनबाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा कोशीले लज्जास्पद पराजय बेहोर्नु पर्यो । सुदूरका प्लेयर अफ दी म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए । त्यस्तै नरेन भट्टले पनि ४ विकेट लिए ।

सुदूर ५ खेल खेल्दा ५ वटामै जित निकाल्दै १० अंककासाथ दोस्रो स्थानमा रहेको छ । कोशी ६ खेलमा १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अंकका पुछारबाट दोस्रो स्थानमा रहेकोे छ । मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेस प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबीच अन्तिम लिग खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *