तराई-मधेशमा छठ पर्वको चहलपहल सुरु
फाइल तस्बिर
विराटनगर । तराई–मधेसमा छठपर्वको चहलपहल सुरु भएको छ । सूर्यको उपासना गरिने यो पर्वमा मुख्यतः तराईवासीका साथै सबै समुदायको सहभागिता हुने गरेको छ ।
सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । छठ पर्वका लागि तयारीस्वरुप नदी, खोला किनार सजाउने काम सुरु भइसकेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, सिराहालगायत तराईका जिल्लाहरुमा छठ पर्वको चहलपहल बढेको छ ।
कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा सुरु हुन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किन्ने गरिन्छ ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत रुपमा छठ पर्व समापन हुने गर्दछ ।
छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन रहेको छठ पर्वको तयारीमा लागेकी विराटनगर–३ की महावती राजवंंशी बताउँछिन् ।
