साफ च्याम्पियनसिप : नेपाल र बंगलादेश आमनेसामने हुँदै

काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधि हात पार्ने लक्ष्यसाथ नेपाल र बंगलादेश आमनेसामने हुनेछन् ।

खेल साँझ साढे ६ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल र बंगलादेश दुबै अपराजित रहँदै फाइनलमा पुगेका हुन् । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपालमूहगत चरणका तीनमध्ये दुई खेलमा विजयी भएको भने एक खेलमा बराबरीमा रोकिएको थियो ।

पहिलो खेलमा नेपाली टोली भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलको फराकिलो अन्तरले हराएको थियो । समूहगत चरणको तेस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो । यस्तै, सेमिफाइनलमा नेपालले पाँचपटकको च्याम्पियन भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

बंगलादेश समूह ‘ए’ को विजेता हो । उसले दुई जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेशी टोली पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलले हराएको थियो । सेमिफाइनल बंगलादेशले भुटानलाई ७–१ गोलले पराजित गरेको थियो ।

बंगलादेश प्रतियोगिताको साविक विजेता र नेपाल साविक उपविजेता हुन् । सन् २०२२ मा नेपालमै सम्पन्न छैटौँ संस्करणको फाइनलमा बंगलादेशले नेपाली टोलीलाई ३–१ गोलले हराएको थियो । नेपाली टोली हालसम्म पाँचपटक प्रतियोगिताको उपविजेता बनिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *