झोलुङ्गे पुल बने, प्रयोग भएन
प्रतीकात्मक तस्बिर ।
विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे पुलमा वन काँक्री फलिरहेको छ । त्यसलाई प्रयोगमा ल्याउन आवश्यक ठाउँमा सार्ने काम सुरु हुन्छ ।’
मन्त्री राईले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका समस्याग्रस्त ‘क्रोनिक’ योजनाहरू योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय पनि गरेका छन् ।
‘क्रोनिक योजनाहरु निर्माण हुन किन सकेन भनेर योजनास्थलमै सर्वसाधरण, उपभोक्ता, निर्माण व्यवसायी, मन्त्रालय तथा पूर्वाधार कार्यालय त्यहाँ गएर छलफल गर्ने निर्णय भएको छ,’ उनले भने, ‘उक्त योजना नबनाउने हो भने त्यहीँ ठेक्का तोड्ने र बनाउने हो भने काम नहुनुको कारण के हो ? स्थानीयको अवरोध हो कि ? निर्माण व्यवसायीले ठगेको हो कि ? भुक्तानीमा समस्या हो कि के हो भन्ने विषयमा जानकारी लिने काम हुन्छ ।’
