काठमाडौँमा आजदेखि गैरआवासीय नेपालीको ग्लोबल सम्मेलन
काठमाडौँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ग्लोबल सम्मेलन हुने भएको छ । आइतबार र सोमबार दुई दिनसम्म हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ ।
एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अनुसार कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने छ । सात वटा प्लेनरी सत्र रहने परिषद्ले जनाएको छ ।
कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुने कार्यतालिका छ ।
दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहने छन् ।
साधारणसभालाई एकताको सभा बनाइने विषयमा छलफल भइरहेको एनआरएनए (केसी समूह) का अध्यक्ष डा. बन्द्री केसीले बताएका छन् । एनआरएनए केसी समूहका उपाध्याक्ष रामशरण सिंखडाले पनि एनआरएनएमा देखिएका कमीकमजोरीलाई सच्याउँदै सबैलाई एकतामा ल्याउने प्रयास गरिने बताए ।
अर्का उपाध्यक्ष डा. हेमराज शर्माले सम्मेलनले एनआरएनका लक्ष्य कार्यान्वयनका लागि मार्गदर्शन दिने बताए ।
