अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दो
इलाम । इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढेको छ । माग बढे पनि यो वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायीको भनाइ छ ।
इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद सुब्बाका अनुसार यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेका थिए । उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो मात्र उपलब्ध गराउने सकिने उनले बताए ।
‘सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ,’ उनले भने, ‘उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार बुकिङ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ ।’
फिक्कलस्थित सिद्धिविनायक चिया उद्योगका सञ्चालक दिनेश अग्रवालका अनुसार गुणस्तरीय चिया उत्पादन बढाउन सकिए समुद्रपार मुलुकमा नेपाली चियाको निर्यात उल्लेख्य परिमाणमा बढ्ने अवस्था छ । यसका लागि किसान, व्यवसायी सबै मिलेर गुणस्तर कायम गर्न गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्ल्याक’, ‘ग्रीन टी’ लगायत फरक स्वाद र गुणस्तरका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले जानकारी दिए ।
यस वर्ष ग्रीनहिल चिया उद्योगले आठ हजार तयारी किलो चिया भारतसहित तेस्रो मुलुकमा निर्यात गरेको उद्योगका सञ्चालक टङ्क दाहालले जानकारी दिए । ग्रिनहिलमा गत वर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको जनाउँदै यस वर्ष ४० देखि ४२ हजार किलोमात्र उत्पादन हुने अनुमान गरिएको सञ्चालक दाहालले बताए ।
झापास्थित मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन अर्ब १६ करोड ३८ लाखको तयारी चिया निकासी भएको थियो । उक्त अवधिमा एक करोड ३४ लाख ३३ हजार आठ सय ५८ किलो चिया निकासी भएको हो ।
नेपालमा उत्पादन हुने चियामध्ये १० प्रतिशत मुलुकभित्रै खपत हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मौसममा आएको परिवर्तनले गत वर्षको तुलनामा यस वर्ष हरियो चिया उत्पादनमा कमी आएको उनले बताए।
बोर्डका अनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चिया खेतीमा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ ।
