सगरमाथा क्षेत्रमा एकै महिना ९ हजार पर्यटक

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । असोजमा ८ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

ती पर्यटकबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले बताए । निकुञ्जले प्रतिपर्यटक नेपालीबाट एक सय, सार्क देशबाट एक हजार पाँच सय र अन्य देशका पर्यटकबाट तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत् लुक्ला पुग्ने गर्छन् । कतिपय सडकमार्ग हुँदै सल्लेरीबाट लुक्ला पुग्ने गर्छन् ।फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । बितेका दुई महिनामा काँकडभिट्टाबाट आठ सय ९० जना तेस्रो देशका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *