मिथिलाञ्चलमा विवाह पञ्चमीको तयारी

जनकपुर । मिथिला क्षेत्रमा सांस्कृतिक महोत्सवका रुपमा मनाइने विवाह पञ्चमीको तयारी शुरु भएको छ । सप्ताहव्यापी रामजानकी विवाह महोत्सवको लागि मधेस प्रदेश सरकारले कार्यदल बनाएर धमाधम तयारी गरिरहेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको नेतृत्वमा समिति गठन भएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।

समितिले महोत्सवका कार्यक्रमको रुपरेखा तयार गर्नसँगै अयोध्याबाट आउने जन्तीको स्वागत, खानपान तथा बसोबास व्यवस्थापन र आम श्रद्धालु बस्न सक्ने ठाउँको व्यवस्थापनबारे पूर्वयोजना बनाउने जनाइएको छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथका श्रीरामसहितका चार पुत्र र विदेहराज (मिथिला नरेश) शिरध्वज जनक र उनका भाइ कुशध्वजका छोरीहरू सीताजीसहित चार दिदीबहिनीको विवाह भएको मङ्सिर शुक्ल पञ्चमी तिथिका अवसरमा विवाहपञ्चमी महोत्सव मनाइने पुरानो मैथिल परम्परा हो ।

यसपालि यो सांस्कृतिक पर्व आउँदो मङ्सिर २१ गते परेको छ । महोत्सवमा विवाहअघि र पछिका विधि मिथिलाका स्थापित परम्परा र प्रचलित कर्मकाण्डीय विधानअनुसार गरिने चलन छ ।

यसका लागि हरेक दिन विधिअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिन्छन् । जसमा राम, लक्ष्मण जनकपुर आइपुगेका दिनलाई नगर दर्शन, सीताजीसँग फूलबारीमा आमनेसामने भएको कथा प्रसङ्गलाई फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर (विवाहका लागि यज्ञवेदी बनाउने), स्वयम्वर, विवाह र रामकलेवा (जन्ती बिदाइ) का कार्यक्रम आयोजना गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *