बालकुमारीका बाढीपीडितको गुनासोः हामीलाई सहयोग भएन

काठमाडौँ । केही साता अघिको अत्यधिक वर्षाका कारण प्रभावित भएका ललितपुरको महालक्ष्मी नगरपालिका–२, बालकुमारीस्थित हिलभ्यू हाउजिङ्गमा बसोबास गर्ने परिवारले कुनै सहयोग नपाएको गुनासो गरेका छन् ।

उक्त हाउजिङमा बसोबास गर्ने ७२ घरपरिवारका बालबच्चा र वृद्धवृद्धा समेत गरी करिब ४ सय जना बाढी र डुबानका कारण प्रभावित बनेका छन् । हाउजिङ्गको सबै घरहरुको भुइँ तलामा बाढी पसेर सबै कपडा लगायत सबैजसो सामानमा क्षति पुगेको छ ।

यसैगरी, गाडी, मोटरसाइकल, स्कुटर, घरायसी सरसानहरु पूर्ण रुपमा क्षति भएको छ । सबै गरी करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अध्ययनबाट पनि खुलेको छ ।

प्रहरीले समेत क्षतिको विवरणसहितको प्रतिवेदन तयार पारे पनि कुनै निकायले हालसम्म सोधखोज र सहयोग नगरेको पीडितहरुको भनाइ छ । त्यस क्षेत्रमा जाने बाटोमा अझैसम्म लेदो जमेर आउजाउमा समस्या परिरहेको छ । त्यसलाई सफाइ गर्न कुनै निकायले चासो नदिएको गुनासो स्थानीय बासिन्दाको छ ।

धेरै क्षति बेहोरेका पीडित परिवारलाई सहयोग गर्नका लागि आग्रह गरिएको छ । स्थानीय कर्मनासा खोलाको दायाँबायाँ करिडोर सडक निर्माण गर्ने तथा खोलालाई अतिक्रमण हुनबाट बचाई खोलाले आफ्नो बाटोमा बग्ने संरचना बनाउनको लागि तुरुन्त पहल गर्न पनि माग गरिएको छ ।

उक्त क्षेत्रका बासिन्दाले विज्ञप्ति जारी गर्दै नेपाल सरकारका सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

हाउजिङ्गले कर्मनाशा खोलाको पूर्वतर्फको कोरिडोरको भाग खाली गरी सडक निर्माण गर्न सहयोग गरेकोमा त्यसको पश्चिमतर्फ ललितपुर महानगरपालिकातर्फ करिडोर खाली नगरेकोले खोलाको सबै बहाव हाउजिङ्गतर्फ मात्र मोडिएको हुँदा अत्यधिक क्षति भएको निष्कर्ष निकालिएको छ ।

खोलाको पूर्वतर्फ महालक्ष्मी नगरपालिकातिर करिडोर तथा कच्ची सडक निर्माण भइसकेकोमा त्यसको पश्चिमतर्फ ललितपुर महानगरपालिकाले पनि तुरुन्त करिडोर खाली गर्नुपर्ने र सडक खोल्नु पर्ने माग स्थानीयको छ ।

बाढीका कारण क्षति भएका सवारी साधन मर्मतमा आधिकारिक सर्भिस सेन्टरहरुले मनलग्दी रुपमा अत्यधिक रकमको बिल बनाई रकम माग गरिरहेकाले गरेकोले उक्त कार्यको छानबिन समिति बनाई कारवाही गर्नुपर्ने माग स्थानीयको छ ।

सबैजसो सवारी साधानहरु बाढीको कारण क्षति भएकोमा मर्मत अवधिभर हरियो स्टिकरमा लग्ने जरिवाना छुट गर्नुपर्ने तथा बाढीबाट हाराएका तथा नष्ट भएका कागजात बनाउन सहजीकरण गर्नु पर्ने माग पनि गरिएको छ ।

हालको च्यासल स्थित नेकपा एमाले पार्टी कार्यालय नजिक रहेको मनोहरा खोलाको पुललाई प्रतिस्थापन गरी रिङरोडमा रहेको पुलसरह वैज्ञानिक तवरले अग्लो बनाउनु पर्ने आग्रह गरिएको छ ।

कर्मनाशा, मनोहरा तथा बागमती खोलाहरुमा फोहोर मैला तथा बालुवा भरिएको जस्ता कारणले खोलाको गहिराई कम हुँदै गइरहेकोले सोको नियमित सफा गरी नदीहरुको वास्तविक गहिराइ कायम गर्नु पर्ने माग गरिएको छ ।

यसका साथै खोला बग्ने स्थानमा पार्क र कोरिडोर निर्माण भएकाले उक्त स्थानमा खोलाको चौडाई बढाउने तथा चौडाइमा एकरुपता कायम गर्नु पर्ने माग स्थानीयको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *