चल्न थाल्यो अरुण नदीमा फेरी

भोजपुर । संखुवासभा र भोजपुरको सीमा भएर बग्ने अरुण नदीमा साढे ३ महिनापछि फेरी सञ्चालनमा आएको छ । बाढीका कारण जोखिम भएकाले यसवर्ष दसैंमा फेरी नचल्दा यात्रुलाई समस्या भएको थियो ।

भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासका अनुसार नदीमा पानीको बहाव घटेपछि बुधबारदेखि फेरी चलाउन थालिएको हो । असार दोस्रो साताबाट फेरी बन्द भएको थियो ।

भोजपुरको षडानन्द नगरपालिका–६ र संखुवासभाको खाँदबारी नगरपालिका–९ को सीमास्थित सत्तीघाटमा सञ्चालित फेरीबाट सवारीसाधन तार्ने गरिन्छ । यात्रुहरु पनि आउजाउ गर्ने गरेका छन् ।

फेरी अवरुद्ध हुँदा भोजपुरको उत्तरी क्षेत्रमा खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री आयात निर्यातमा समस्या हुने गरेको छ ।

सतीघाटमा चल्ने फेरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका सर्वसाधारणलाई सहज हुने गरेको छ ।

फेरीबाट दैनिक १ सय वटा जति साना–ठूला सवारीसाधन अरुण नदी तार्ने गरिएको स्थानीय श्याम कार्कीले बताए । उनका अनुसार फेरी बन्द भएका कारण लामो समयदेखि सर्वसाधारण समस्यामा परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *