मेयर र उपमेयरको घरको खानेपानी धारा काटियो
पाँचथर । बजेट उपलब्ध नगराएको भन्दै फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपानेको घरको पानीका धारा काटिएको छ ।
फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई बजेट उपलव्ध नगराएको भन्दै समिति अध्यक्ष प्रकाश गुरुङ नेतृत्वको टोलीले मंगलबार मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपानेका घरमा जोडिएका धारा काटिदिएको हो ।
पहिरोले ठाउँ ठाउँमा खानेपानीका पाइपलाइन बगाएर क्षति पुर्याएपछि वैकल्पिक मुहानको खोजी गरेर सदरमुकाममा पानी ल्याएको उल्लेख गर्दै अध्यक्ष गुरुङले त्यसका लागि नगरपालिकाबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन् ।
यसअघि समितिले फिदिम नगरपालिकामा जडान गरिएको खानेपानी पनि काटिदिएको थियो । मुहानदेखि ट्याङ्कीसम्म ८ ठाउँमा पहिरोले क्षति पुर्याएको समितिले जनाएको छ ।
अध्यक्ष गुरुङका अनुसार २२ सय मिटरभन्दा धेरै पाइप लाइनमा क्षति भएको छ । क्षति भएका स्थानमा पाइपलाइनको व्यवस्थापन नगरपालिकाले गरिदिनुपर्छ माग समितिको छ ।
नगरपालिकाले भने सहयोग नगरेको भन्ने आरोप पुर्वाग्रही भएको जनाएको छ । मर्मतका लागि हरेक वर्ष बजेट छुट्याउँदै आएको उल्लेख गर्दै उपमेयर न्यौपानेले यो वर्ष पनि ट्यांकी मर्मतका लागि ५ लाख रुपैयाँ बिनियोजन भएको बताए ।
नगरपालिकाले सहयोग गरेन भन्दै मेयर र उपमेयरका घरका धारा काट्नु न्यायोचित नभएको उनको भनाइ छ ।
