कोशीमा ३४ करोड रुपैयाँको अन्नबाली नोक्सान

विराटनगर । असोज दोस्रो साता भएको अत्यधिक वर्षापछि बाढी पहिरोका कारण कोशी प्रदेशमा ३४ करोड रुपैयाँभन्दा बढीको अन्न बालीमा क्षति भएको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७‍.९८ हेक्टर जमिनमा धान रोपाइ भएको थियो । त्यसमध्ये पाँच हजार ७ सय २२.७८ हेक्टर जमिनमा १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको धानबालीमा क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख दीपा दियालीले बताइन् ।

प्रदेशमा सबैभन्दा धेरै खोटाङमा ३ हजार सात सय ३९ हेक्टर धान बालीमा क्षति पुगेको छ । सुनसरीमा ८ सय २४ हेक्टर, उदयपुरमा ३ सय ९८ हेक्टर, झापामा २ सय ८७ हेक्टर, मोरङमा २ सय ४४ हेक्टर, भोजपुरमा १ सय १३ हेक्टर, तेह्रथुममा ३४ हेक्टर र सोलुखुम्बुमा ११ हेक्टर जमिनमा क्षति पुगेको छ ।

तरकारीतर्फ ४ सय १४ हेक्टर जमिनमा ११ करोड १८ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ । २ हजार तीन सय ५७ हेक्टर जमिनमा लगाइएको कोदोमा तीन करोड ७१ लाख मूल्य बराबरको क्षति भएको छ ।

सुनसरीको हरिनगर गाउँपालिकामा मात्रै २४ करोड २७ लाख बराबरको क्षति भएको छ । बाढीले हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा गरेर सो परिमाणमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायत २४ करोड २७ लाख बराबरको क्षति भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *