अर्थशास्त्रको नोबेल पुरस्कार ३ जनालाई संयुक्त
काठमाडौँ । अर्थशास्त्र तथा आर्थिक विज्ञान विधातर्फ यस वर्षको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीले संयुक्त रूपमा पाएका छन् ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार म्यासच्युसेट्स इन्सिच्युट अफ टेक्नोलोजीका डारोन एसेमोग्लु र साइमन जोनसन तथा युनिभर्सिटी अफ सिकागोका जेम्स ए रोबिन्सनलाई संयुक्त रूपमा हस्तान्तरण गर्ने घोषणा गरेको हो ।
ती अर्थशास्त्रीले देशको समृद्धिमा त्यस देशमा भएका सामाजिक संस्थाहरूको महत्वका बारेमा गरेको योगदानस्वरुप पुरस्कार प्रदान गरिएको जनाइएको छ । यसबाट राष्ट्रहरू बीचको समृद्धिमा भिन्नता देखाएको एकेडेमीले उल्लेख गरेको छ ।
कानुनी शासनको मामिलामा कमजोर रहेको एवं समाज र जनसङ्ख्याको शोषण गर्ने संस्थाले समृद्धि वा परिवर्तनका लागि योगदान गर्न सक्दैनन् भन्ने विषयलाई विजेताहरूको अनुसन्धानले बुझ्न मद्दत गरेको एकेडेमीले जनाएको छ ।
पुरस्कारका विजेताहरूले युरोपेली मुलुकहरूले उपनिवेश गरेका अर्थतन्त्र र त्यसको संस्थागत अवस्था तथा उपनिवेशपछिको संस्थागत अवस्थाको बारेमा अध्ययन गरेका छन् ।
यस क्रममा समावेशीकरणका लागि ल्याइएका संस्थाका कारण पहिले धनी भएका औपनिवेशिक मुलुक पनि अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको अध्ययनको निष्कर्ष छ ।
समावेशीकरणका लागि सिर्जित संस्थाले दीर्घकालीन फाइदा गर्ने भए पनि सत्तामा रहेका व्यक्तिले अल्पकालीन लाभको लागि प्रयोग गर्ने गरेले यसले परिणाम दिन नसकेको उनीहरूको निष्कर्ष छ ।
राजनीतिक प्रणालीको नियन्त्रण यी संस्थाहरू रहुन्जेल यी संस्थाले गर्ने आर्थिक सुधारका प्रतिविद्धताबारे कसैले विश्वास नगर्ने समेत उनीहरूको अध्ययनको निष्कर्ष छ ।
