नेपालबाट पूर्ण रुपमा बाहिरियो मनसुन
काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट शनिबारदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन पूर्णरूपमा बाहिरिएको हो ।
विभागले सूचना जारी गर्दै बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि बाहिरिएसँगै अब पूर्ण रुपमा नेपालबाट बहिर्गमन भएको छ । यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिक रूपमा मनसुन बाहिरिएको थियो ।
शनिबार मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको विभागले जनाएको छ ।
यो वर्षको मनसुन अवधिमा अत्यधिक पानी परेकाले नेपालका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको छ । बाढी, पहिरो र डुबानमा परी २ सय ५० जनाभन्दा बढी मानिसको मृत्यु भयो भने कतिपय अझै बेपत्ता छन् । घाइते हुनेको संख्या पनि निकै छ ।
बाढी र पहिरोले धेरै स्थानमा सडकहरु क्षतिग्रस्त बनेका छन् । कतिपय स्थानमा पुलहरु बगेका छन् । सडक क्षतिग्रस्त हुँदा दसैँका बेला यात्रुहरुलाई आउजाउ गर्न कठिनाइ भइरहेको छ । केही स्थानमा मर्मत गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिएकाले केही सहज भएको छ ।
