भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

काठमाडौँ । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्।

उमेरसँग सम्बन्धित रोगबाट पीडित उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिने उनका आफन्तले बताएका छन् ।।

उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको लेखेकी छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘रतन टाटा एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति थिए। उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएका थिए ।’

कांग्रेस नेता राहुल गान्धीले रतन टाटालाई श्रद्धाञ्जली अर्पण गर्दै ट्वीटरमा लेखेका छन्, ‘रतन टाटाको दर्शन थियो। उनले व्यापार र परोपकारको क्षेत्रमा आफ्नो छाप छोडेका छन्।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *