दसैँ : टीका र जमराको अर्थ
अघि नेपालमा मान्छेभन्दा धेरै देवीदेवता, घरभन्दा धेरै मन्दिर र वर्षभरका दिनभन्दा धेरै चाडवाड थिए भनिन्थ्यो। मूर्ति, मन्दिर र चाडवाड नेपालका पहिचान थिए। कहीं नभएको जात्रा हाँडिगाउँमा भन्ने लोकोक्ति, दिनैपिच्छेका जात्रा, पर्व, चाड र उत्सव हुने देश नेपाल नै हो।
विश्वका यति धेरै चाडपर्व मनाइने देश अन्यत्र कतै पाइंदैनन्, प्रत्येक महिना र प्रत्येक दिन केही न केही पर्व परेकै हुने। देवताको उत्पत्ति, अवतरित, ठूला व्यक्ति जन्मिएको, क्रीडा गरेको र जनहितमा काम गरेको तथा रोगव्याधि लगायतको अदृश्य शक्तिलाई परास्त गरेको या मानवको हितका लागि गरिएको कार्य सफल भएको सबै अवसर हाम्रा चाडवाड हुन्। खेतीपातीको काम सकिएको अवस्था होस् या अन्नपात थन्क्याउने समय, सवै चाडवाड मनाउने अवसर मानिन्छन्, नेपालमा।
ऋतु परिवर्तन, उँधौली र उँभौलीमा पनि चाडवाड नमनाउने सवाल नै भएन। वर्तमानको शुभ अवस्था तथा भविष्यको सुखशयलको कामना चाडवाडका मुख्य उद्देश्य हुन्। यथार्थमा चाडवाड मनाउनु नेपाली संस्कृतिको विशेषता नै बनेको छ र हाम्रो परिचय पनि चाडवाडमा नै छ। तसर्थ विश्वमा हामी चाडवाडको देशका नामले परिचित छौं।
आनन्दका सूचक भएकाले नै मानिसले सफलता, सुख, शान्ति र विजय पाएको स्मरणका चाडवाड मनाउन सुरू गर्यो। धेरै चाडवाडको अभ्यूदय कहिले भयो भन्ने कुराको खासै प्रमाणहरू पाउन नसकिए पनि चाडवाडहरू मनोरञ्जनसँग सम्बन्धित छन् र तिनीहरूको सांस्कृतिक आधार पनि निकै बलियो हुने गरेको छ।
चाडवाड धर्मसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने गर्दछ र अलगअलग धर्मावलाम्बीले मनाउने चाडवाडमा विभेद रहने गरेको छ। बेग्लाबेग्लै चाडवाडमा पूजिने देवीदेवता पनि फरक छन्। पर्वअनुसार धेरै चाडवाडका अवसरमा देवीदेवता र केहीमा भने पितृपूजन हुने गर्दछ।
चाडवाडको सुरूवातका सम्बन्धमा खासै प्रमाणहरू पाउन सकिंदैन। तिनीहरूको सुरूवात हाम्रा पुर्खाले विभिन्न अवसरमा अज्ञात समयमा गरेका हुन्। नेपालका चाडपर्व घरमा र धार्मिक स्थलमा मनाउने गरी दुई प्रकारका छन्। तिनीहरू ज्यादा मनोरञ्जनात्मक र सांस्कृतिक महत्वका पनि छन्। यहाँको सबैभन्दा लामो समय मनाइने चाड दसैँ हो। दश दिन मनाइने पर्वका रूपमा यसलाई दसैँ भनिएको छ।
घटस्थापनाबाट देवीको पूजाआराधना सुरू गरी दशमीको दिन देवीपूजा विसर्जन गरिने हुँदा दसैँ मनाइने मुख्य दशवटा दिनमात्र हुन्। तर व्यवहारमा भने आश्विन शुक्ल प्रतिपदा या घटस्थापनादेखि पूर्णिमासम्म जम्मा पन्ध्र दिनसम्म यो पर्व मनाउने चलन छ। दसैँ पनि चैते दसैँ र वडादसैँ गरी जम्मा दुई प्रकारको हुन्छ, जसमा नेपालीहरूले ज्यादा लामो समय र हर्षोल्लासका साथमा मनाउने चाडचाहिँ वडादसैँ हो।
नेपालीहरूले चाडपर्व यति धेरै हर्षोल्लासका साथमा मनाउनुका पछाडि सांस्कृतिक र वैज्ञानिक कारणहरू छन्। यथार्थमा हाम्रा पुर्खा साँच्चै वैज्ञानिक थिए, जसले हामीलाई भोजन, आवास, मनोरञ्जन र अध्यात्मसम्बन्धी सबै आवश्यकता पूरा गर्ने बाटा सिर्जना गरे र तिनलाई निरन्तरता दिए। अन्य चाडपर्व जस्तै दसैँ मनाउने कार्य पनि संस्कृति र आवश्यकता हो भन्ने कुरा तिनले सिकाएर गए।
दसैँको सुरूवात गर्दाको समयमा अहिलेको जस्तो यातायात तथा सञ्चारको विकास भएको थिएन। तसर्थ उद्योग, व्यापार, शिक्षा, तीर्थयात्रा र रोजगारको सिलसिलामा परदेश गएको मानिस वर्षौंसम्म घरमा नफिर्न सक्दथ्यो। कुनै कारणले यात्री परदेशमा आपतबिपतमा परेमा या उसको मृत्यु परदेशमै भएमा पनि उसका परिवार लामो समयसम्म बेखबर रहने अवस्था थियो।
तसर्थ परदेशमा गएका आफन्त घरपरिवारमा फिर्ने र उसको हालखबर आफन्तले थाहा पाउन सकुन् भनी दसैँजस्तो पर्व मनाउन लागियो। यो पर्व परदेशीको परिवारसँग भेटघाटको माध्यम बन्यो। दसैँ मनाउनुको सांस्कृतिक पक्ष पनि मजबुत थियो।
परदेशमा पुगेर जोखिमपूर्ण कार्य र यात्रा गर्दा समेत सुरक्षित रहन आफूभन्दा ठूला या मान्यजनको आशिर्वाद आवश्यक थियो, जुन देवीदेवतालाई साक्षी राखेर गर्न आवश्यक ठानिन्थ्यो। यसैको परिपूर्तिका लागि दसैँको समयमा देवीको पूजाआजा गर्ने तथा देवीको प्रसादका रूपमा मीठा खानेकुरा खाने, राम्रा लुगा लगाउने र टीका तथा जमरा लगाएर मान्यजनबाट आशिक लिने कार्य गर्न लागिएका हुन्।
नौ दिनसम्म नवदूर्गाको पूजाआजा गर्नु शक्ति प्राप्तिका लागि थियो। त्यसपछिको टीका विजय पाउने आशिर्वाद तथा देवीको प्रसाद मानिन्थ्यो। दसैँमा देवीलाई पूजाआजा गर्दा जमरा राख्ने चलन चल्यो, जसको पनि सांकेतिक अर्थ छ। जमरा जौका राख्नु पर्ने मान्यता छ, जहाँ जौ पवित्र अन्न मानिन्छ।
देवीलाई नौ दिनसम्म पूजाआजा गर्दै जाँदा सुरूमा चढाएको फूल ओइलाउने र कुहिने सम्भावनाले देवी पूजाको समापनमा ताजा फूलको आवश्यकता थियो। यसका लागि मानिसले जमरालाई ताजा फूलका रूपमा प्रयोग गर्यो। नौ दिनसम्म देवीको पूजाआजा गर्दा क्रमिक रूपमा उम्रिँदै र बढ्दै जाने जमरालाई पवित्र मानियो र देवीको प्रसादका रूपमा यसलाई लगाउने चलन चलाइयो। नेपाली संस्कृतिमा जमरा लगाइने पर्व दसैँमात्र हो, जसको धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक महत्व हुन्छ।
नेपाली संस्कृतिमा जमरा ग्रहणको निकै ठूलो अर्थ र महत्व छ। जस्तो हिन्दू धारणामा पहेंलो रङ सौम्यता, शान्ति र सुन्दरताको प्रतीक मानिन्छ। विष्णुले पित वस्त्र लगाउने मान्यता राखिन्छ भने देवताले सुनकै गहना लगाउँछन् भन्ने मान्यता पनि छ। तिनीहरूलाई पित बस्त्र लगाएको रूपमा प्रस्तुत गर्नुको मूल कारण पनि यही हो। जमरा पहेंलो रङको हुन्छ, जसले सुन्दरता र शान्ति दिने मान्यता राखिन्छ । तसर्थ दसैँमा टीकाका साथमा पहेंलो जमरा लगाउने गरिएको हो।
स्वास्थ्यका लागि अति महत्वपूर्ण तथा आवश्यक वस्तुलाई नेपाली संस्कृतिमा पूजा, संरक्षण र सेवन गर्ने चलन छ। जौ लगायत अन्नका टुसा या जमरा विभिन्न प्रकारका रोगहरूको नाशक भएकाले यसलाई ग्रहणमात्र गर्नाले पनि धेरै प्रकारका रोगव्याधिबाट मुक्त हुन सकिने मान्यतामा दसैँमा जमरा लगाउने चलन चलाइएको हो।
घरमा तुलसी रोप्ने संस्कृतिको विकास पनि यसै मान्यतामा भएको मानिन्छ। दसैँमा लगाइने टीका विजय, आनन्द र हर्षोल्लासको प्रतीक हो। तसर्थ दसैँमा टीका लगाउने चलन चलेको हो। टाढा गएका परिवारका सदस्य परिवारमा फिरेर आउँदा हर्षोल्लास हुनु स्वाभाविक छ।
तसर्थ त्यसको खुसियालीमा देवीको पूजा आराधना गर्ने चलन चलेको हो। यसको उद्देश्य शक्ति प्राप्त गर्नु हो र परदेशमा गएका आफन्तलाई घरमा फिर्न शक्ति मिलोस् र परदेश जाँदा रोगव्याधि र शत्रुहरूलाई परास्त गर्न सकियोस् भन्ने कामना गर्नु हो।
नेपाली समुदायमा वर्षभरको खेतीपातीको चटारोबाट छुटकारा पाएपछि दसैँ मनाउने गरिन्छ। वर्षाको हिलो, पानी, अन्धकार तथा असहज परिस्थितिबाट छुटकारा पाउनु तथा लगाएको बालिनाली लहलह हुँदै बाला या दाना लाग्न थाल्नु साँच्चै खुसियालीको क्षण हुने गर्दथ्यो।
यस खुसियालीलाई चाडका रूपमा मनाउन लागियो, जुन सबैभन्दा ठूलो चाड या दसैँ थियो। अन्धकारको समय सकिएको, अर्को सालका लागि अन्नपात तयार हुन लागेको तथा फुर्सद भएको स्मरणमा सबैभन्दा ठूलो चाड दसैँ मनाउने गरिएको हो। वर्षभर खानपुग्ने अन्नपात फल्न लाग्नु तत्कालको युगमा साँच्चै खुसीको क्षण मानिन्थ्यो, जसलाई दसैँका रूपमा मनाउने गरियो।
दसैँ हिन्दूहरूको चाड मानिने भए पनि नेपालका अन्य धर्मावलम्बीहरूमा पनि कुनै न कुनै रूपमा यो चाड मनाउने चलन छ। दसैँ यहाँका आदिवासी जनजातिको मौलिक चाड हो भन्ने राय केही आदिवासी विद्वानहरूको पाइन्छ। उहाँहरूको तर्क यो छ कि अघि मानिसहरूले आफन्त र सम्पत्तिको सुरक्षाका लागि सँधैं अर्को समूहसँग लड्नु पर्थ्यो र त्यसका लागि आफ्ना हातहातियार चुस्तदुरूस्त राख्न आवश्यक पनि थियो।
तसर्थ तिनीहरू खेतीपातीको काम सकिएपछि आफ्ना राखिएका हतियार उद्याउने या तिनको खिया हटाउने, देवीलाई पशुबलि दिने तथा त्यसको रगतमा अक्षता मुसेर रातो टीका लगाई युद्धका लागि तयार हुने गर्दथे। यसैको स्मरणमा दसैँमा रातो टीका लगाउने गरिएको हो भन्ने मान्यता उहाँहरूको छ।
रातो टीका वीरता र विजयको प्रतीक भएकाले उहाँहरूले यस्तो तर्क गर्नु भएको हो। जे भए पनि यो नेपालीहरूले मनाउने ठूलो चाड हो, जुन सबैभन्दा लामो समय मनाइन्छ।
संसारका कुनै पनि संस्कृतिमा यति लामो समय मनाउने चाड छैनन्। यसमा मनोरन्जन, देवपूजन, पौष्टिकता, धर्म र संस्कृति सबै पक्ष जोडिएको छ। पिङ खेल्नु मनोरञ्जन, देवपूजन, नयाँ लुगा, टीका तथा जमरा ग्रहण संस्कृति तथा मीठो भोजन गर्नु पौष्टिकता हुन्।
देवीको पूजाआजा शक्ति प्राप्ति र सुरक्षाका पक्ष मानिन्छन्। यथार्थमा दसैँ नेपाली संस्कृतिभित्र धर्म, संस्कृति, आवश्यकता, मनोरन्जन, पौष्टिकता, मान्यजन सत्कार र आत्मसम्मान सवै विषयवस्तु समावेश गरिएको चाड हो। यसले पारिवारिक एकताको पनि काम गरेको छ।
नेपाली समाजमा दसैँ मनाउँदा देवीका नाममा पशुबलि दिने चलन भए पनि सबै समुदायमा यो चलन छैन। सांस्कृतिक रूपमा बलिको मतलव देवतालाई चढाउने नैवेद्य या प्रसाद हो, पशुलाई बध गर्नु नै भने होइन। हाम्रा पुर्खाले पशुबलि दिंदामात्र देवी खुसी हुन्छिन् र सुख तथा शान्ति हुन्छ भनेको पनि होइन । तर मानिसले जे रूचाउँछ, त्यसैलाई समाजले स्वीकार गर्ने चलन चल्यो र मानिसले मासु सेवनलाई रूचाएपछि त्यसको परिपूर्तिका लागि दसैँजस्ता चाडबाडका अवसरमा देवीलाई पशुबलि दिने परम्परा बसाइएको हो।
पुराना संस्कृत साहित्यका ग्रन्थहरूमा देवीलाई पशुबलि दिनु पर्ने उल्लेख कतै पाइँदैन। मानिसले मासु खानुलाई महत्व दिन लागे पछिका ग्रन्थहरूमा मात्र देवीलाई सुरा र मासु सेवन गर्ने मानिएको हो। यसरी पशुबलि पनि मानिसको आवश्यकताको फलस्वरूप चलेको चलन मानिन्छ। यही नेपाली चाडवाड संस्कृतिको विशेषता पनि हो।
यथार्थमा दसैँ नेपालको सवैभन्दा ठूलो या लामो समय मनाइने चाड हो। यो चाड मनाउनुका पछि सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक कारणहरू छन्। यसलाई हाम्रा पुर्खाले आवश्यकता पूरा गर्ने पर्वका रूपमा सुरूवात गरेका हुन्। मनोरन्जन, मान्यजनको सम्मान र स्मरण, देवपूजन, फुर्सदको सदुपयोग, एक आपसमा भेटघाट र शक्ति तथा सुरक्षाका लागि दसैँ मनाउन लागियो र यसैलाई अहिलेसम्म निरन्तरता दिइयो।
अहिलेको केही परिवर्तित छ। तर पनि यसमा पूरा गरिने विधिविधान अहिले पनि यथावत छन्। दसैँका अवसरमा सुख, शयलको कामना गर्ने, पारिवारिक जमघट हुने र सवैको मंगल होस् भन्ने कामना गर्ने कुरा भने परिवर्तित भएको छैन।
पशुबलि दिने तथा मिठो भोजन गर्ने, मनोरन्जन गर्ने र मान्यजनबाट आशिर्वाद लिने कुरामा पनि परिवर्तन आएको छैन। अहिले पनि दसैँ संस्कृति नेपाली संस्कृतिको पहिचान बनेको छ। सबैभन्दा ठूलो पर्व भएकाले दसैँ संस्कृति चाडवाड संस्कृतिको मुख्य आधारका रूपमा स्थापित छ।
-खतिवडा संस्कृति विषयका प्राध्यापक एवं संस्कृतिविद् हुन्। नेपाली धर्म र संस्कृतिबारे उनका थुप्रै पुस्तक र लेख प्रकाशित छन्।
