हजारौँ बालबालिकामा अन्धोपनको समस्या : ‘सतर्कता अपनाऔँ’
विराटनगर । बालबालिकामा अन्धोपनको समस्या बढेको चिकित्सकहरुले बताएका छन् । रामलाल गोल्छा आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा आयोजित कार्यक्रममा बालबालिकामा अन्धोपनको समस्या बढेको जनाएको छ ।
विश्व दृष्टि दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाउने गरिएको छ । यस वर्ष ‘बालबालिकाको आँखालाई माया गरौं’भन्ने विश्व दृष्टि दिवसको नारा रहेको छ । रामलाल गोल्छा आँखा अस्पताल विराटनगरमा कार्यरत डाक्टर इशा श्रेष्ठ र डाक्टर अनिमा देसारले कार्यपत्र प्रस्तुत गर्दे नेपालमा ३० हजार २ सय ४० जना बालबालिकाहरुमा अन्धोपनको समस्या रहेको बताए ।
९० हजार बालबालिकाहमा न्यून दृष्टिको समस्या रहेको तथ्यांक उनीहरुले प्रस्तुत गरे । नेपालका बालबालिकामा दृष्टि कम हुने मुख्य कारण कोर्निया देखाइएको छ । ४५ प्रतिशत बच्चाहरुमा कोर्नियाको समस्या छ ।
यसैगरी, मोतीविन्दुको कारण २५ प्रतिशत, जलविन्दुको कारण १० प्रतिशत, वंशानुगत १० प्रतिशत र आँखाको पर्दाको खराबी कारणले १० प्रतिशत बच्चाहरुमा दृष्टि कम हुने गरेको छ ।
बच्चाहरुमा टाढाको देख्न नसक्ने समस्या बढेको रामलाल गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महताेले बताए । सन् २०५० सम्ममा ५० प्रतिशत बालबालिकाहरु टाढाको देख्न नसक्ने समस्या हुने उनले बताए । बच्चाहरुमा हुन सक्ने दृष्टि कमजोरीलाई बेलैमा उपचार गरेमा निको हुने उनले बताए । अस्पतालमा दैनिक ३० देखि ४० जना आँखाका समस्या भएका बच्चाहरु आउने गरेका छन् ।
बच्चाको जन्म भएको १ महिनामा, स्कुल भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्षवर्षमा आँखा जाँच, आँखा रातो भएमा, आँखा बाँगो भएमा, आँखाको दृष्टि धमिलो भएमा, आँखा दुखेमा, चिप्रा लागी रहेमा, आँसु बगिरहेमा जँचाउनु पर्ने चिकित्सक बताए ।
त्यस्तै, आँखा सामान्यभन्दा ठूलो वा सानो भएमा, आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चाको जन्म भएमा र कम तौलको बच्चा जन्मिएमा आँखा केन्द्र तथा अस्पतालमा गएर आँखा जाँच गरी अन्धोपनको समस्याबाट बच्न चिकित्सकले सुझाव दिएका छन् ।
वि.सं. २०३९ सालमा स्थापना भएको रामलाल गोल्छा आँखा अस्पतालले अहिलेसम्म १९ लाखलाई सेवा प्रवाह गरेको छ भने १ लाख ५० हजारको आँखाको अप्रेशन गरेको छ ।
तिलगंगा आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालन भएको गोल्छा अस्पतालले यो वर्ष ८० जनाभन्दा बढीको नानी (कोर्निया) को ट्रान्सप्लान्ट गरेको अस्पतालका महासचिव सुरेन्द्र गोल्छाले बताए ।
