बसाइँ सरेको ढिकी
पहिलो पटक मैले
संसार चिहाएको मेरो जन्मघर,
अनि त्यो आँगन
जहाँ घाममा सुताएर आमाले
कोलमा पेलेको तोरीको तेल लगाइदिएको ठाउँ
हो त्यही आँगनको पल्लो छेउ
मतान, कटेरो, खोल्माहरूमा
बेला बेला फुर्सद चोरेर
भाइबैनीसित खेलेको लुकामारी
थोरै मकैका घोगाका झुत्ता झुण्ड्याइएका
माथितला वर्षभरि गाईलाई दिन राखिएको पराल
छेउमा रिट्ठे दाइले चिरिदिएका दाउराको माच,
अनि चिटिक्क पारेर
गोबरले लिपेर राखेको ढिकी
हिजो आज साँध तरेर
अलिक तल झरेको छ
सायद ढिकी बसाईँ सरेको छ।
वर्षैभरि भक्रङ् भक्रङ् गर्दै
कहिले धान कुटेको आवाज,
कहिले रोटा पकाउने चामल कुटेको प्रतिध्वनि,
बेसार, धुलो अचार यहीँको उत्पादन
भिजाएको अनदि धान
किटको कराइमा भुटेर
गाउँभरि आँठोपाँजो पालैपिलो
दसैँमा चिउरा कुटेको
मेला पर्म हुनेगथ्र्यो–
हो त्यही आँगन
आज मेरो आमाघर माइतघर भएको छ ।
‘बिहे गरेर गएकी
यहाँ आएर बाठी हुन्छे’
कर्कश आवाज आउने
बिरानो घर भएको छ ।
अनि…
मैले आफ्नै हातले लिपेको ढिकी
हिजोआज पर सरेको छ
लमतन्न परेर मलाई नै
हेरिरहेको रहेको छ ।
स्कूलमा सरले–
घरमा गरेर लउनु भनेर दिएको ‘होमवर्क’ पनि
नगरी नगरी
धान कुटेको ढिकी
आज पर भएछ–
वास्तवमा नै ढिकी बसाईँ सरेछ ।
हिजोआज नयाँ घर छ उसको
छेउबाट जुलुस जान्छ–
‘फलानो जिन्दावाद, ठिस्काना मुर्दावाद
यस्तो नाक चाहिँदैन, उस्तो नाक हाम्रो हो’
अनुहार अनुहारका गीत गाइन्छ
त्यो ढिकीले सुनेको थिएन नाराहरू
चुपचाप आफ्नो पुच्छर
टेक्नलाई ओछ्याइदिन्थ्यो
हात हाली हाली चलाउनलाई
आफ्नो मुख बाइदिन्थ्यो ।
त्यो मैले कुटेको बिचरा ढिकी
सुधी धेनु गाई थिई
जतिखेर ढुङ्ग्रो लिएर गए पनि
दूध दिने गाई थिई–
पञ्चायत फेरिँदा, सरकार परिवर्तन हुँदा पनि
भोज भतेर उसैले पस्केर दिएको सम्झन्छ ऊ
एक्कोहोरो शङ्खसँग निस्किएका
गाउँलेहरूको अन्तिम यात्रा पनि
उस्कै करासोबाट गुज्रन्छन्
टुलुटुलु हेरिरहन्छ ऊ
ऊ ज्यूँको त्यूँ छ,
फेरेको छैन उसले रङ्ग, नाम फेरेको छैन
फेरिन्न उसको अस्तित्व
हो उसले पक्कै आफ्नो ठाउँ फेरेको छ
र त…
अलिक तल बसाईँ सरेछ ।
हिजोआज
औँसी–पूर्णे पूजा आजामा
उसले रम्रिने मौका पाउँछ
पिठो बन्न थोरै चामल
उस्को भागमा आउँछ
मीठो ससिनो धेरैथोरै
ऊ त्यसैमा रमाइरहेको रहेछ ।
कहिले कहीँ आफैँले आफैँलाई–
‘तँ इतिहास होस्,
अस्तित्व होस्,
पहिचान होस’
भन्दै ढाडस दिँदोरहेछ
तर…खै किन हिजोआज
उसले धान देख्न छोडेछ
फापर, कोदो र बेसारको रङ्ग बिर्सिएछ
धुलो अचारको स्वाद बिर्सिएछ ।
त्यो मैले कुटेको ढिकी अब
आगत पिँढीले
सङ्ग्रहालयमा देखिने भइसकेको छ ।
किनभने
विज्ञान उसको शत्रु भएर आएर हुनपर्छ
ढिकी निकै ओझेलमा परेको छ
यस्तै यस्तै कुराले हुन सक्छ
बिचरा ढिकी
अलिक तल बसाइँ सरेको छ ।
–गान्तोक, सिक्किम

बधाई छ