विश्व कराते च्याम्पियनसिपमा खेल्न इटाली जाँदै एरिका

काठमाडौँ । इटालीको भेनिसमा हुने १३ औं विश्व कराते च्याम्पिन्सिपमा नेपाली खेलाडी एरिका गुरुङले प्रतिस्पर्धा गर्ने भएकी छन् । असोज २३ देखि २७ गतेसम्म हुने प्रतियोगितामा एरिका नेपालबाट सहभागी हुने एक्ली खेलाडी हुन् ।

एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले बिदाइ गरे । अफिसियलमा तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् । टोली शनिबार इटाली प्रस्थान गर्दै छ ।

त्यस अवसरमा जितेन्द्रमान गुरुङ र विशाल चौलागाईंले प्रायोजन गरेको किट्स र ट्रयाकसुट पनि टोलीलाई हस्तान्तरण गरिएको थियो ।

एरिकाले यु–२१ उमेर समूहको महिला ६८ केजीमाथि तौल समूहमा असोज २३ गते खेल्नेछिन् । यो स्पर्धाको सेमिफाइनल र फाइनल असोज २७ गते हुनेछ ।

क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा १ सय १३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहने टोलीका प्रशिक्षकसमेत रहेका १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठले जानकारी दिए ।

एरिकाको यो समग्रमा छैटौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँचै अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई समग्रमा ८ पदक दिलाएकी छन् । त्यसमा ४ स्वर्ण, ३ रजत र १ कांस्य छ । एरिकाले यो सफलता १ वर्षको छोटो अवधिमा हासिल गरेकी छन् ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । विदेशमै गएर खेलेको एरिकाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

त्यस्तै, उनले १९ औं एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २ स्वर्ण र चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत जितेकी छन् ।

एसियाली खेलकुद र एसियाली सिनियर करातेमा एरिकाले जितेको रजत नेपाली करातेको इतिहासमा हालसम्म कुनै पनि खेलाडीले जित्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *