विराटनगर भन्सार क्षेत्रमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

विराटनगर । दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको विषयलाई लिएर शुक्रबार विराटनगर भन्सार कार्यालय क्षेत्र तनावग्रस्त भएको छ । भन्सार कार्यालयमा ढुंगा प्रहार गरी क्षति पुर्याइएको छ ।

कार्यालय तोडफोडको प्रयास समेत भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरी स्थिति नियन्त्रणको प्रयास गरेको छ । मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थिति नियन्त्रणमा लिन १० सेल अश्रुग्यास प्रयोग गरिएको हो ।

विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ स्थानीय ६० वर्षीय श्याम साहको मृत्यु भएको थियो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले साइकलमा जाँदै गरेका उनलाई ठक्कर दिएको थियो ।

उपचारका लागि विराट नर्सिङ होम पुर्याएपछि चिकित्सकले साहको मृत्यु भइसकेको जानकारी दिएका थिए । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएको छ ।

ट्रक चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन् । शव अस्पतालमै छ । आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको डीएसपी जोशीले बताए । भन्सारको गेट र भवनमा क्षति पुगेको छ । भवनको शिशाहरु फुटेका छन् ।

त्यस क्रममा प्रहरी सहायक निरीक्षकसहित ४ जना प्रहरीले सामान्य घाइते भएका छन् । अश्रुग्यास प्रहारपछि भिड तितरवितर भएको छ । अहिले भन्सार परिसरको अवस्था सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ । पीडित पक्षसँग वार्ता गरी उनीहरुको माग र धारणा सुनेर समस्या समाधानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *