क्यानाडाले जित्यो उपाधि, नेपाल दोस्रो

काठमाडौँ । त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानाडाले जितेको छ । क्यानाडाको अन्टारियो प्रान्तस्थित किङ्गसिटीमा भएका अन्तिम खेलमा क्यानाडाले ओमानलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो ।

तीन देश सम्मिलित उक्त सिरिजमा क्यानाडाले शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमा कब्जा जमाएको हो । क्यानाडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो । दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो । ओमानविरुद्धको पहिलो खेलमा क्यानाडा आठ विकेटले पराजित भएको थियो ।

सिरिजमा नेपाल दोस्रो स्थानमा रह्यो । नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो ।

फाइनल खेलमा ओमानले दिएको ८३ रनको लक्ष्यलाई क्यानडाले १४ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । क्यानाडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए । त्यस्तै दिलप्रीत बजवाले १४ तथा नभनीत धालीवालले ११ रन बनाए ।

ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान दुई–दुई विकेट लिए भने जिसन मक्सुदले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो ।

ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४४ बलमा तीन चौका र एक छक्काको सहायताले ३५ रन जोडेका हुन् । त्यसैगरी शाकिल अहमदले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ क्यानाडाका अखिल कुमार र प्रविन कुमारले समान तीन–तीन विकेट लिए भने हर्ष ठाकरले दुई विकेट लिए । सादविन जफरले एक विकेट झारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *