कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको दाबी गरेका छन् । अमेरिकाबाट फर्किएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
सरकारले उद्धार र राहतमा राम्रो काम गरेको पनि उनले बताए । ‘म त बल्ल आज फर्किँदैछु, मैले पाएको जानकारीअनुसार सरकारले क्षमता अनुसारको उद्धार र राहतका कार्यक्रम गरिरहेको छ । विरोधका लागि विरोध गर्नुको औचित्य छैन ।’
मौसम विज्ञान विभागले एक हप्ताअघि अति ठूलो वर्षको नै पूर्वसूचना दिएको र तीन दिनअघि ‘रेड अलर्ट’ जारी गरेको अवस्थामा पनि सरकारले पूर्वतयारी नगरेको भन्ने जिज्ञासामा ओलीले भने, ‘कहाँ कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाडौँमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन । हामी कसैले नसोचेको घटना भएको छ ।’
