विराटनगरमा खानेपानीका लागि नयाँ पाइपलाइन बिछ्याइँदै
विराटनगर । विराटनगरमा सहज रुपले खानेपानी आपूर्ति गर्न पाइपलाइन विस्तार गरिने भएको छ । यसका लागि विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।
जापान सरकारको आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ छ ।
परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा दुई तीनवटा पाइप बिछ्याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ ।
सबै परीक्षण पूरा गरेपछि मात्रै औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले जानकारी दिए । जाइकाको खानेपानी परियोजना काम छिटो सम्पन्न भएर शुद्ध खानेपानी प्रयोग गर्न वडाबासी आतुर रहेको आफूले पाएको परीक्षणमा उपस्थित वडाध्यक्ष राम पोखरेलले बताए ।
विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका भइरहेका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्यांकी, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइने जनाइएको छ । खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाबाट १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुने दाबी गरिएको छ ।
