जताततै दुख्यो मेरो देश

यता गाउँ दुख्यो
उता शहर दुख्यो
यताउता जताततै दुख्यो मेरो देश ।

यता चरा दुख्यो
उता गरा दुख्यो
भत्किएका मनहरूमा दुख्यो मेरो देश ।

यता बास दुख्यो
उता गाँस दुख्यो
गरिबका चुलाहरूमा दुख्यो मेरो देश ।

यता मानो दुख्यो
उता छानो दुख्यो
निरीह बाआमाभित्र दुख्यो मेरो देश ।

यता रूख दुख्यो
उता सुख दुख्यो
नदीका किनारहरूमा दुख्यो मेरो देश ।

यता मेची दुख्यो
उता काली दुख्यो
छिमेकीका सिमानामा दुख्यो मेरो देश ।

यता पसिना दुख्यो
उता रगत दुख्यो
विदेशीका इसारामा दुख्यो मेरो देश ।

यता तराई दुख्यो
उता हिमाल दुख्यो
स्वाभिमानीका छातीमा दुख्यो मेरो देश ।

आशा दुख्यो भरोसा दुख्यो
दुख्न बाँकी केही रहेन
यताउता जताततै दुख्यो मेरो देश ।
असंख्य मनभित्र दुख्यो मेरो देश ।

-विराटनगर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *