नेपाली क्रिकेट टोलीद्वारा क्यानाडामा खाद्यान्न सहयोग

टोरन्टो । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले करिब ३ हजार डलर बराबरको खाद्यान्न लगायतका सामग्री वितरण गर्ने भएको छ। क्यानाडा र ओमानसँग टि–२० खेल खेल्न आएको नेपाली टिमले ब्राम्टन, अन्टारियोस्थित एक फुड ब्याङ्कलाई त्यो सामग्री दिन लागेको हो।

नेपाली टोलीका सदस्यहरूले सोमबार अपरान्ह ती सामग्री वितरण गर्ने एनआरएनए, क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठले जानकारी दिए। यस कार्यमा एनआरएनए, क्यानाडा र लियाम फुड्सले सहजीकरण गरेका छन्।

नेपाल भ्रमणका बेला क्यानाडाको क्रिकेट टिमले पनि काठमाडौँस्थित संस्थाहरूलाई विभिन्न सामग्री वितरण गरेको थियो। ‘हामीले एउटा राम्रो परम्परालाई निरन्तरता दिने प्रयास गरेका हौं, उपाध्यक्ष श्रेष्ठले भने।

‘फुड ब्याङ्क ड्राइभ’ नाम दिइएको यो कार्यक्रमका लागि क्यानाडा भ्रमणमा रहेकी नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणाले एक सय अमेरिकी डलर सहयोग गरेकी थिइन्। ड्राइभका बारेमा थाहा पाएपछि मन्त्रीले राम्रो काम भनेर प्रशंसा गर्दै सय डलर सहयोग गरेको आयोजक टिमका एक सदस्यले जानकारी दिए।

यसैगरी, यस कार्यका लागि क्यानाडाका विभिन्न व्यक्ति तथा संस्थाहरूले तीन हजार १ सय ५० डलर सहयोग गरेको जनाइएको छ। (नेपाल टचबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *