माग पूरा नगरे मेलम्चीको पानी काठमाडौँ लैजान नदिने

काठमाडौँ । सिन्धुपाल्चोकका बाढी प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनी दिएका छन् । मेलम्चीको मुहान सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बुधबार प्रदर्शन गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

तीन वर्षअघि आएको बाढीबाट प्रभावित स्थानीय बासिन्दाले आफ्ना माग पूरा गर्न दबाबस्वरुप प्रदर्शन गर्दै आएका छन् । मेलम्ची विकास समितिले पानी काठमाडौँ ल्याउन मुहान क्षेत्रमा तयारी गरिरहेको बताइरहेका बेला स्थानीय बाढी प्रभावितले विभिन्न माग राखेर अवरोध गर्ने चेतावनी दिएका हुन् ।

२०७८ असारमा आएको बाढीले धनजनको ठूलो क्षति भए पनि सरकारले राहत र पुनस्र्थापनामा बेवास्ता गरेको उनीहरुको गुनासो छ । बाढीले क्षति गर्ने जोखिमका कारण मेलम्चीको सुरुङ असार १० गतेदेखि बन्द गरिएको छ ।

बाढी प्रभावितले ययअघि पनि माग पूरा गराउन पटक–पटक दबाब दिँदै आएका थिए । पछिल्लो पटक स्थानीय राजनीतिक दलहरूका पालिकास्तरीय प्रमुख तथा प्रतिनिधिहरू एवं स्थानीय संघर्ष समितिले गत भदौ ३० गते संयुक्त विज्ञप्ति प्रकाशन गरी माग पूरा नभए पानी सुरुङमा प्रवेश गराउन नदिने चेतावनी दिएका थिए ।

स्थानीयले बाढीमा बेपत्ता भएकाहरूलाई आर्थिक सहयोग, खेतियोग्य जमिनको संरक्षण र सिंचाइ व्यवस्थापन, बैंकको ऋण मिनाहा, विस्थापितको पुनस्र्थापन, स्थानीय साना उद्योग सञ्चालन गर्न सहुलियत दरमा ऋण, पुल तथा सडकको निर्माणलगायतका १७ बुँदे माग अघि सारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *