मनसुन फेरि सक्रिय : कतै मध्यम, कतै भारी वर्षा

काठमाडौँ । लामो समयसम्म खडेरी र चर्को गर्मीपछि मनसुन फेरि सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव देखिएको छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने जनाइएको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘हिले दसैँ’ हुने सम्भावना

मनसुन फेरि सक्रिय भएकाले यो वर्ष ‘हिले दसैँ’ हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दसैँसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्मको अवस्था हेर्दा दसैँसम्मै मनसुन सक्रिय हुन सक्ने सम्भावना देखिएको छ । यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १०, जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने गर्छ ।

यस वर्षको अक्टोबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । दसैँको टीका असोज २६ गते छ । मनसुनको प्रणाली अध्ययन गर्दा टीकाको दिनसम्म पनि मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको मौसमविद्को भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *