विराटनगरका अग्रज विज्ञान प्राध्यापक सुजित चटर्जीको निधन

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विज्ञान संकायका प्राध्यापक डा. सुजित चटर्जीको ६७ वर्षको उमेरमा निधन भएको छ । घरैमा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा न्युरो अस्पतालमा सोमबार बिहान निधन भएको हो ।

केही दिनअघि उनी घरको सिलिङ पङ्खा सफा गर्ने क्रममा टुलबाट लडेका थिए । टाउको बजारिएर बेहोस भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको उनीसँग लामो समय काम गरेका प्राध्यापक कृष्ण पोखरेलले जानकारी दिए ।

शल्यक्रिया गरी उनको आइसीयुमा राखेर उपचारका साथै चिकित्सकले निरन्तर निगरानी गरिरहेका थिए । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्राध्यापक चटर्जी महेन्द्र मोरङमा केमेस्ट्री विषय अध्यापन गर्थे । चटर्जी, प्राध्यापक पोखरेललगायत मिलेर २०४८ सालमा विराट साइन्स क्याम्पस स्थापना गरेका थिए । उक्त क्याम्पस पछि मनमोहन प्राविधिक विश्वविद्यालय (तत्कालीन मनमोहन पोलिटेक्निक) लाई हस्तान्तरण गरिएको थियो ।

महेन्द्र मोरङबाट सेवानिवृत्त भएपछि चटर्जी विराटनगरका अरनिको लगायत विभिन्न क्याम्पसमा अध्यापन गर्दै आएका थिए ।

प्राध्यापक पोखरेलका अनुसार तत्कालीन मोरङ हाइड्रोको मिल्स एरियास्थित पावर हाउसमा चटर्जीका बुवा अमल चटर्जी डिजल इन्जिनको इन्जिनियरका रुपमा काम गर्थे । त्यहाँबाट सेवानिवृत्त भएपछि उनी यतै बसेका थिए ।

प्राध्यापक चटर्जीका पत्नी र एक छोरा छन् । उनको सोमबार दिउँसो ३ बजे हाटखोलास्थित सिङ्घिया खोलाको विश्रान्ति घाटमा अन्त्येष्‍टि गरिने भएको छ ।


प्रतिक्रिया

One thought on “विराटनगरका अग्रज विज्ञान प्राध्यापक सुजित चटर्जीको निधन

  1. 💐 ओम शान्ति 💐

    मिल्स एरियास्थित मोरङ हाइड्रो का पुर्व बासिन्दा थिये प्राध्यापक डा. सुजित चटर्जी |

Leave a Reply

Your email address will not be published. Required fields are marked *